काठमाडौं । नेपाली फूटबल टीमका मूख्य प्रशिक्षक मोहम्मद अलमुताइरी शनिबार बेलुका काठमाडौं आइपुगेका छन् । उनलाई एन्फाका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका छन् । अलमुताइरी दोस्रो पटक नेपाल आएका हुन् । साफ खेलपछि नेपाल नआउने प्रतिक्रिया दिएका उनले अहिले भने नेपाल फर्कँदा खुशी लागेको प्रतिक्रिया दिए । पछिल्लो तीन, चार महीना गाह्रो भएको स्वीकार गर्दै अलमुताइरीले एन्फा र कतार पुटबल एसोसिएसनको आग्रहमा आफु नेपाल आएको बताए ।
पैसा भन्दा पनि महत्वपूर्ण कुरा नेपालीले फुटबल मन पराउनु भएको उनको प्रतिक्रिया छ । अलमुताइरीले साफ कपपछि राम्रो प्रतिक्रिया आएको र अब फुटबलमा केही गर्न सक्छ भन्ने भएको विश्वास जागेको समेत बताए । तर, उनले धेरै अपेक्षा नगर्न समेत सुझाव दिए ।
नेपालले विश्वकप मै छनोट गर्न सक्छ भन्ने सम्मको अपेक्षा नगर्न उनले आग्रह गरेका हुन् । नेपालको लक्ष्य अर्को साफ कप भएको भन्दै अब एसिया क्वालिफायरमा ध्यान दिने बताए । नेपाल सन् २०२७ मा एसिया कपमा पुग्ने उनको विश्वास छ । अलमुताइरी तीन वर्षको सम्झौता गर्न सहमत भएपछि नेपाल आएका हुन् ।