नेपाल एयरलाइन्सबाट जापानको नारिता उडान मात्र ३७ हजारमा

काठमाडौं । नेपाल एयरलाइन्सले जापानको नारिताका लागि प्रवद्र्धनात्मक भाडादर सार्वजनिक गरेको छ ।

जापानमा रहेका नेपाली र पर्यटकले नेपाल आउँदा होस वा नेपालबाट जापानमा जाँदा अब राष्ट्रिय ध्वजाबाहकमा मात्र ३७ हजार भाडा तिरेर नारितासम्म उड्न सकिने भएको छ ।

नेपाल एयरलाइन्सले २ मार्च (१९ फागुन)बाट जापानमा उडान थाल्दैछ । उडानको तयारी पुरा भएको र टिकट बुकिंग धमाधम भइरहेको निगमले जनाएको छ ।

नेपाल एयरलाइन्सले अहिले जापानकै ओशाकाबाट उडान गरिरहेको छ । नारिता शुरु भएपछि ओशाका उडान भने बन्द हुनेछ ।

यस रुटमा नेपाल एयरलाइन्सले वाइडबडी ए३३० जहाज उडाउने छ । करीव साढे ६ घण्टा लामो यस उडानमा दुई तर्फी भाडादर भने ७६ हजार रुपैयाँ तोकिएको छ ।

जापानबाट बीना ट्रान्जिट नेपालसम्म आइपुग्न सकिने भएकाले यो रुट नाफामा चल्ने नेपाल एयरलाइन्सको विश्वास छ ।

नेपाल एयरलाइन्सले चीनमा समेत उडान बिस्तारको योजना बनाएको थियो । तर कोरोना भाइरसका कारण चीन उडान तीन महिना पछाडी धकेलिएको छ ।