काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गते (जुन १२) देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ ।
निगमले ‘काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं’ रुटमा नियमित उडान गर्ने भएको हो । टिकट बुकिङ खुला गरेको छ । यात्रुहरूको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान अनुमति लिई उडानको संख्या बढाउँदै लैजाने योजना बनाएको बताइएको छ ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने कार्य गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान सुरु गर्ने निर्णय गरेको छ ।
यसै सिलसिलामा निगमका कार्यकारी अध्यक्ष र वाणिज्य विभागका निर्देशकले हालै गरेको मलेसिया भ्रमणमा मलेसियाका डाइरेक्टर अफ सिभिल एभिएसन अथोरिटी (सीएएएम) सँग मलेसियाबाट भैरहवा नियमित उडानसम्बन्धी छलफल भएको थियो ।
उक्त भ्रमणमा मलेसियास्थित नेपाली दुतावास, ट्राभल एजेन्टहरू, त्यहाँ रहेका उद्यमी व्यवसायीहरू, नेपाली समुदायका व्यक्तिहरूसँग समेत छलफल भएको बताइएको छ ।
निगमले मलेसियाको जोहोरबारुबाट क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (केएलआइए) सम्म आवतजावत गर्न निकट भविष्यमा सटल बसको व्यवस्था पनि गर्ने बताइएको छ ।