काठमाडौं । नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह सुधार भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई कोरोनाको अतिउच्च जोखिमपूर्ण क्षेत्रबाट सुधार गर्दै जोखिमपूर्ण क्षेत्रमा राखेको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणमा नेपालले लिएको निर्णय तथा गरेका कार्यबाट यसको जोखिम क्रमश कम हुँदै गएको संगठनको निष्कर्ष रहेको छ ।
छिमेकी मुलुक चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको र भारतसँगको खुला सीमाका कारण नेपाललाई अतिउच्च जोखिममा राखिएको थियो।
तर, पछिल्लो समय नेपालले लिएका कदमले यसको जोखिम न्यूनिकरणमा सहयोग गरेको हो । नेपालले सीमा नाका बन्द गरेको छ ।
नेपालमा लकडाउनको कार्यान्वयन समेत अन्य मुलुकको तुलनामा नेपालमा सन्तोषजनक रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर डब्लुएचओले अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।
नेपालले समयमै लकडाउन गरेर बाहिरबाट संक्रमित आउने सम्भावना टरेको हो ।
सोहीकारण नेपाल कोभिड १९ को अतिउच्च जोखिमबाट उच्च जोखिममा सुधार भएको हो । नेपालमा कोभिड १९ संक्रमण फैलिन नदिन गत चैत ११ गतेदेखि लकडाउन गरिएको छ। कोरोनाको परीक्षण समेत व्यापक बढाइएको छ ।
सरकारले देशभर २५ वटा हब हस्पिटल कोरोनाको उपचारका लागि तोकेको छ । ती अस्पतालमा कोभिड– १९ का बिरामीको मात्र उपचारको व्यवस्था गरिएको छ।
नेपालमा अहिले १५ स्थानमा पिसिआर र ७५ जिल्लामा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) दुवै विधिबाट परीक्षण गरिएको छ।
अहिलेसम्म नेपालमा पिसिआरबाट नौ हजार ४०९ र आरडिटीबाट ३८ हजार ८९ गरी कुल ४७ हजार ४९७ जनामा परीक्षण गरिएको छ। तीमध्ये ४९ जनामा संक्रमण देखिएकामा ११ जना उपचारपछि घर फर्किसकेका छन्।