नेपाल डे परेड २०२५ को सञ्चालन समितिले पायो पुर्णरुप

न्युयोर्क

एनआरएनए न्युयोर्क च्याप्टर तथा स्थानीय नेपाली संघसंस्थाहरुको संयुक्त आयोजनामा हुन गइरहेको नेपाल डे परेड २०२५ को सञ्चालन समितिको बैठक ज्याक्सन हाइट्समा सम्पन्न भएको छ । यस वर्षको परेड आगामी मे १८ तारिख आइतबारका दिन न्युयोर्क सहरको म्यानह्याट्टनमा हुने तय भएको छ ।

एनआरएनए न्युयोर्क च्याप्टरको उपाध्यक्ष छिरिङ शेर्पाको अध्यक्षतामा सम्पन्न कर्यक्रममा, कन्भेनर मनिता गुरुङ, आर्थिक संयोजक कृष्ण आचार्यसहित सल्लाहकार, संयोजक र स्वयंसेवकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकमा परेड व्यवस्थापन, मञ्च कार्यक्रम, सांस्कृतिक झाँकी, अतिथी स्वागत, ट्रक व्यवस्थापन र प्रचार-प्रसारसम्बन्धि महत्वपूर्ण निर्णयहरू लिइएको जानकारी आयोजक टिमले दिएको छ। साथै, पूर्व कन्भेनर टक रुवालीले २०० साना, १०० मध्यम र १० ठूला नेपाली झण्डा प्रायोजन गर्ने घोषणा गर्नुहुँदा सहभागीहरू उत्साहित बनेका थिए।

अध्यक्ष छिरिङ शेर्पाले बैठकमा सबैलाई स्वागत गर्दै नेपाल डे परेड २०२५ लाई सम्पूर्ण नेपाली समुदायको गौरवमय चाडको रूपमा स्थापित गर्न सबैको साथ र सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो। बैठकमा सहभागीहरूले परेडको तयारीलाई तीव्र पार्दै आगामी कार्यक्रमलाई भव्य, आकर्षक र ऐतिहासिक बनाउन प्रतिबद्धता जनाएका छन्।