काठमाडौं । यूएईसँगको दोस्रो एकदिवसीय खेलमा नेपाल तीन विकेटले विजयी भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले तीन विकेटले विजयी भएको हो । यो सँग अन्तर्राष्ट्रिय सिरिज १-१ बराबरीको अवस्थामा पुगेको छ ।
यूएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७.५ ओभरमा सात विकेट गुमाएर पूरा गरेको छ। अब शुक्रबार हुने तेस्रो खेलबाट सिरिज विजेताको टुंगो लाग्नेछ ।
नेपालका लागि गुल्सन झाले ३७, कुशल भुर्तेले ३५, आरिफ शेखले ३३, ज्ञानेन्द्र मल्लले २६, दीपेन्द्रसिंह ऐरीले १३ र सोमपाल कामीले १६ रन बनाए।
यूएईका लागि रोहन मुस्ताफाले तीन, हजरत बिलालले दुई र बसिल अहमदले एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ रोजेको यूएईले ४३.२ ओभरमा सबै विकेट गुमाएर १९१ रन बनाएको थियो। नेपालले कसिलो बलिङ गरेपछि यूएई सामान्य स्कोरमै समेटिएको थियो।
यूएईका लागि मुहम्मद वासीमले ५०, अलिशान सारफूले ३५, वृत्य अरविन्दले २५ र विष्णु सुकुमारनले २४ रन बनाएका थिए।
नेपालका लागि सोमपाल कामी र ललित राजवंशीले तीन-तीन तथा करण केसी, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेले एक-एक विकेट लिएका थिए।
यसअघि पहिलो खेल यूएईले ८४ रनले जितेको थियो ।