नेपाल प्रहरीसँग बालेन आक्रामक, सडक पेटीका बीट नहटाए भत्काउने चेतावनी

Photo : Gorakhapatra

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले महानगरका विभिन्न ठाउँमा सडकको क्षेत्राधिकार मिचेर बनाइएका प्रहरी बिट हटाउन सम्बन्धित मन्त्रालय र निकायलाई आग्रह गरेका छन् । उनले शानिबार सामाजिक सञ्जालमार्फत महानगरभित्र सडक तथा सडकपेटी मिचेर निर्माण गरिएका १९ वटा प्रहरी बिटको ठेगानासहित तस्बिर सार्वजनिक गर्दै यथाशीघ्र हटाउन सम्बन्धित निकायलाई आग्रह गरेका हुन् ।

उनका अनुसार काठमाडौँ महानगरभित्र प्रधानमन्त्री निवास अगाडि, सामाखुसी, जडीबुटी चोक, सिनामङ्गल चोक, चुच्चेपाटी, ढल्को, ताम्सीपाखा, रुद्रमती मार्ग मैतीदेवी, असनचोक, नयाँ सडक ९न्युरोड० पीपलबोट, चिकमङ्गल, धोबीचौर, बानेश्वर देउराली क्लब, रातोपुल, बौद्ध, ताहाचल, पेप्सीकोला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअगाडि र माछापोखरीमा सडकपेटीमै प्रहरी बिट छन् ।

ऐन नियम सर्वसाधारणका लागि मात्रै नभई सबैका लागि रहेको उल्लेख गर्दै उनले सम्बन्धित निकायले ती संरचना आफैँ नहटाए समतामूलक कानुनको प्रयोग गरेर महानगरले हटाउन बाध्य हुने चेतावनी दिएका छन् । उनले सडकपेटी सधैँ मान्छे हिँड्नका लागि प्रयोग हुनुपर्छ भनेर नै महानगरले सडकपेटी व्यापार रोकेको स्मरणसमेत गराएका छन् । महानगरले यसअघि मैतीदेवीमा रहेको एउटा प्रहरी बिट डोजर लगाएर हटाएको थियो ।

उनले भनेका छन्, “कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैँले हटाउनुहोला । नत्र समतामूलक कानुनको प्रयोगका लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ ।”

महानगर प्रमुख साहले सामाजिक सञ्जालमा राजदूतावासलगायत विदेशी नियोगका हकमा पनि सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरेको उल्लेख गरेका छन् । उनले कानुन सर्वसाधारण नागरिकका लागि र अरूका लागि अलग हुन्न भन्ने तथ्य स्थापित गर्न राज्यका सबै निकाय तयार बन्नुपर्ने पनि उल्लेख गरेका छन् ।