काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ । दुई समकक्षीबीच सोमबार राती टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
वार्तामा राष्ट्रपति भण्डारीले सन् २०१९ को अक्टोबरमा चीनका राष्ट्रपतिले गरेको नेपाल भ्रमणको स्मरण गराउँदै नेपाल र चीनबीच लामो समयदेखिको निकट सम्बन्धको प्रसंग उठाएकी थिइन् ।
राष्ट्रपति सीले उक्त भ्रमणमा नेपालमा आफूले पाएको स्वागतको स्मरण गर्दै भ्रमण महत्वपूर्ण रहेको बताएका थिए ।
दुबै राष्ट्रपतिबीच कोरोना भाइरसको विश्वब्यापी फैलिएको असर र यससँग लड्न विश्वब्यापी रुपमा भइरहेको प्रयासका बारेमा समेत छलफल भएको मन्त्रालयले उल्लेख गरेको छ ।
राष्ट्रपति भण्डारीले कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि चीन सरकारले गरेको प्रयासको प्रशंसा गर्दै यस क्रममा चीनले विश्वभरका देशलाई कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको सहयोगको पनि सह्राहना गरेका मन्त्रालयको विज्ञप्तीमा उल्लेखख छ ।
राष्ट्रपति सीले कोरोना भाइरस रोकथामका लागि नेपालले तत्काल चालेको प्रभावकारी कदमका कारण कोरोना भाइरस फैलिन नपाएको भन्दै यस भाइरसविरुद्धको लडाईमा चीनको सहयोग रहने बताए ।
राष्ट्रपति भण्डारीले चीन सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको प्रति पनि धन्यवाद दिइन् ।
दुई राष्ट्रप्रमुखले द्विपक्षीय सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा अझै प्रगाढ बनाउन यसअघि दुई देशबीच उच्च स्तरीय भ्रमणका क्रममा भएका समझदारीको कार्यान्वयन गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।