काठमाडौं । नेपाल र चीन सरकारबीच द्धिपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको छ ।
शुक्रबार चीनको बेइजिङमा द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार अब चीन र नेपाल दुबै देशका वायु सेवा कम्पनीले एक अर्का मुलुकमा साताको ९८ उडान गर्न पाउने छन् ।
यसअघि यस्तो संख्या ७० थियो । थपिएका २८ उडानमध्ये २१ उडान नेपालमा भैरहवा र पोखरा विमानस्थलका लागि कोटा नै तोकिएको पर्यटन मन्त्रालयले बताएको छ ।
अन्य भने काठमाडौं विमानस्थलमा उडान हुने छ । अहिले चीनबाट ५ वटा वायुसेवा कम्पनीले उडान गरिरहेका छन् ।
उता, चीनमा भने नेपालबाट १५ वटा विमानस्थल उडानका लागि खुला भएका छन् ।
यसअघि ७ विमानस्थलमात्र चीनले नेपाली कम्पनीको उडानका लागि खुला गरेको थियो ।
यससँगै अब नेपाली कम्पनीले चीनका १५ शहरमा उडान बिस्तार गर्न सक्नेछन् ।
अहिले भने कुनै पनि कम्पनीले चीनमा उडान गर्न सकिरहेका छैनन् । चीनले नेपाली कम्पनीका लागि उडान अनुमति नै दिइरहेको छैन ।