नेपाल र भारतबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल आज

काठमाडौं । नेपाल र भारतबीच आज दोस्रो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल हुँदैछ । नेपाली समय अनुसार साढे ५ बजे शुरु हुने खेल दशरथ रंगशालामा हुने छ । यसअघि गत विहीबार सम्पन्न खेल बराबरीमा सकिएको थियो । दुबै टीम साफ च्याम्पियनसिपको तयारीमा छन् । यो खेललाई दुबै टोलीले सोही प्रतियोगिता पूर्वको अभ्यासका रुपमा लिएका छन् । नेपाली टोलीले दोस्रो खेल स्पष्ट जितका लागि खेल्ने लक्ष्य लिएको छ ।

पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि नेपालले अग्रता कायम गर्न नसक्दा बराबरीमा चित्त बुझाउनु परेको थियो । नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताईरीले भारत बलियो टिम भएको भन्दै नेपाल स्पष्ट जितका लागि मैदानमा उत्रने बताएका छन् । भारतीय प्रशिक्षक इगोर स्टिमाकले समेत भारत जितको हकदार भएको बताएका छन् । रंगशालामा करीव ५ हजार दर्शकलाई छिर्न दिइएको छ । यसका लागि टिकट काट्ने व्यवस्था मिलाइएको छ ।

सरकारले रंगशालामा स्वास्थ्य मापदण्ड पालना गरि सिमित दर्शक उपस्थित गराउन अनुमति दिएको हो । नेपाल र भारत दुवै टिम माल्दिभ्समा आगामी महिना आयोजना हुने साफ च्याम्पियनसिप खेल्ने छन् । नेपाली टिम भारतसँगको खेलपछि सेप्टेम्बर १० मा थप बन्द प्रशिक्षण गर्न कतार जाने कार्यक्रम छ । टीम कतारबाटै सेप्टेम्बर २७ मा माल्दिभ्स जाने छ । साफ प्रतियोगिता अक्टोबर १ देखि १६ सम्म आयोजना हुँदैछ ।