नेपाल र यूइएबीच वार्ता, कामदारको पक्षमा के भयो सहमती ?

नेपाल र यूएईबीच द्धीपक्षीय बैठक राजधानीमा सम्पन्न भएको छ । आइतबारबाट दुई दिनसम्म चलेको बैठकले नेपाली कामदारको पक्षमा महत्वपूर्ण निर्णयहरु गरेको श्रम मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालय स्रोतका अनुसार अब कामदारले म्यानपावरमा लाग्ने सेवा शुल्क, भिसा शुल्क, हवाई टिकट र मेडिकल शुल्क कुनै पनि तिर्नु नपर्ने गरी सहमती भएको छ ।

यस पटक दुई देशको श्रम सहसचिवस्तरीय बैठक बसेको हो । यसअघि मन्त्रीस्ततीय सहमतिलाई कार्यान्वयनको तहमा लैजान यो बैठक आयोजना भएको बताइएको छ ।

दुई मुलुकबीच यसअघि भएको श्रम समझदारीअनुरुप सेवा शुल्क भुक्तानी र कामदार भर्ना प्रक्रियाको स्वरुप टुंग्याइएको मन्त्रालयले जनाएको छ ।

अब नेपाली कामदारले सेवा शुल्क, भिसा शुल्क, हवाई टिकट र मेडिकल शुल्क र यूएईमा श्रमिक कार्ड बनाएबापतको रकम पनि तिर्नु नपर्ने गरी सहमति कार्यान्वयनमा आएको छ ।

म्यानपावरको सेवा शूल्क रोजगारदाताले नै दिनु पर्नेछ । भिसा शुल्क यूएई सरकारले छूट दिएको छ । हवाई टिकट रोजगारदाता कम्पनी स्वयमले काटिदिनुपर्ने भएको छ ।

मेडिकलको शुल्क म्यानपावर कम्पनीले तिरिदिनुपर्ने र्भको छ । यस्तो रकम भने रोजगारदाता कम्पनीले नै म्यानपावरलाई फिर्ता गर्छ । नेपाल र युएईबीच ३१ जेठ २०७६ मा श्रम समझदारी भएको थियो ।