काठमाडौं । नेपाल र यूएईबीच आज तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट हुँदैछ । यो सिरिजको तेस्रो तथा निर्णायक खेल हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजे सुरु हुने खेल नेपाल र यूएई दुवैले जितेमा उपाधीको हकदार हुनेछन् । तीन खेलको सिरिज १–१ को अवस्थामा छ । नेपाल पहिलो खेलमा यूएईसँग ८४ रनले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले यूएईलाई तीन विकेटले पराजित गर्दै सिरिजमा फर्किएको थियो ।
भर्खर आईसीसी टी–२० विश्वकप खेलेर नेपाल आएको यूएई नेपालको तुलनामा बलियो छ । नेपाल र यूएईबीच अहिलेसम्म आठ वटा एकदिवसीय खेल भएका छन् । जसका यूएई पाँच र नेपाल तीन खेलमा विजयी भएको छ । नेपालले आईसीसी लिग डिभिजन(२ को तयारीका लागि यूएईसँग यो सिरिज खेलेको हो । नेपालले यस सिरिजपछि आईसीसी लिग–२ खेल्न नामिबिया भ्रमण गर्दैछ । लिग–२ अन्तर्गत डिसेम्बरमा २ तारिखदेखि आयोजक नामिबिया, नेपाल र स्कटल्यान्डबीच सिरिज हुनेछ । लिग–२ मा हाल नेपाल १७ अंकसहित छैटौँ स्थानमा छ ।