न्यूयोर्क । संयुक्त राष्ट्र संघको कमिटी फर डेभलपमेन्ट पोलिसीले नेपाललाई स्तरोन्नतिको सिफारिस गरेको छ । यससँगै नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने ढोका खुलेको छ । अमेरिकास्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगका अनुसार यसका लागि पाँच वर्षको तयारी अवधि राखिएको छ ।
यसअनुसार सन् २०२६ बाट नेपाल स्तरोन्नति बनिसक्ने छ । यसबीचमा अतिकमविकसित मुलुकका रुपमा पाउने सुविधा नेपालले आगामी पाँच वर्ष नै उपयोग गर्न पाउने छ । प्रतिव्यक्ति आय, मानव सम्पत्ति सूचकांक र आर्थिक जोखिम सूचकांकमध्ये नेपालले पछिल्लो दुई मापदण्ड पूरा गरेर स्तरोन्नतिका लागि योग्य बनेको हो ।
नेपालले आयको स्तरबाहेक अन्य दुई मापदण्डमा यसअघिका दुईओटा समीक्षादेखि नै मापदण्ड पूरा गरेको हो । समितिको सिफारिशपछि राष्ट्रसंघीय आर्थिक एवं सामाजिक परिषद् (इकोसोक) र राष्ट्रसंघको महासभाबाट स्वीकार भएमा नेपाल विकासशील मुलुक बन्ने छ । संयुक्त राष्ट्रसंघीय निकायको नीतिअनुसार, हरेक तीन वर्षमा हुने समीक्षामा लगातार दुई पटक तोकिएका मापदण्डमा सफल देश मात्र विकासशील देशमा उक्लन सक्ने प्रावधान छ ।