नेपाल विद्युत प्राधिकरणको एक वर्षको खुद नाफा साढे १३ अर्ब


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो दोस्रो कार्यकालको तेस्रो वर्ष पुरा भएको अवसर पारी आफ्ना उपलब्धी सार्वजनिक गरेका छन् । शुक्रबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले प्राधिकरणका उपलब्धीहरु सार्वजनिक गरेका हुन् ।

कार्यकारी निर्देशक घिसिङका घिसिङका अनुसार ८ वर्ष अगाडी ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको जानकारी दिए । गत आर्थिक वर्ष २०८०/८१ मा मात्र खुद नाफा १३ अर्ब ३१ करोड रुपैयाँ रहेको उनले जानकारी दिए ।

आव २०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको प्राधिकरण त्यसयता निरन्तर घाटामा गएको हो । यसबीचमा तीन पटक गरी २५ प्रतिशत विद्युत महसुल घटाइएको भन्दै उनले प्राधिकरणले महसुल बढाएर नाफा नबढाएको समेत जानकारी दिए ।


अहिले प्राधिकरणका ५९ लाख ग्राहक पुगेका छन् । यसमध्ये २२ लाख ग्राहकले न्यूनतम शूल्क ३० रुपैयाँ मात्र कायम गरी निशूल्क विद्युत उपलब्ध गराइएको उनले जानकारी दिए । सिञ्चाईका लागि प्रतियूनिट २ रुपैयाँमा विद्युत उपलब्ध गराइएको समेत कुलमानले बताए ।

लिफ्टिङ खानेपानीमा डिमान्ड शूल्क नलाग्ने र इनर्जी शूल्कमा सहुलीयत दिइएको समेत उनको भनाई छ । विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेशनमा सहुलीयतपूर्ण महसुल दर कायम गरिएको उनले बताए ।


नेपाल सरकारले २५ साउन २०७८ का दिन कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि दोस्रो पटक नियुक्त गरेको छ । आज उनको दोस्रो कार्यकालको तेस्रो वर्ष पुरा भएको हो । यसबीचमा आफ्नो कार्य सम्पादन मूल्यांकनका आधारमा आव २०७८÷७९ मा ९४.२३ प्रतिशत र त्यसपछिको आवमा ९८.९४ प्रतिशत अंक प्राप्त भएको समेत उनले जानकारी दिए ।


८ वर्ष अगाडी २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र रहेकोमा अहिले ९९ प्रतिशत पुगेको उनले जानकारी दिए । ८ वर्ष अगाडी २९ लाख ७० हजार ग्राहक रहेकोमा अहिले ५९ लाख ३५ हजार पुगेको हो । ८ वर्ष अगाडी ३ अर्ब ७२ करोड यूनिट विदुत खपत हुने गरेकोमा अहिले १०अर्ब २३ करोड यूनिट पुगेको समेत उनले बताए ।