नेवानिले त्रिभुवन विमानस्थलमा गरिरहेको ग्राउण्ड ह्याण्डिलिङ सेवा खोसियो

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डिलिङ सर्भिस नेपाल वायुसेवा निगमबाट खोस्ने निर्णय गरेको छ । नागरिक उड्डयन प्राधिकरणको व्यवस्थापनले शुक्रबार भूमिस्थ प्रबन्ध सेवा अर्थात ग्राउण्ड ह्याण्डलिङ सर्भिस प्रतिस्पर्धाका माध्यमबाट छनोट हुने संस्थामार्फत गराउने निर्णय गरेको हो ।

सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) बमोजिम यो निर्णय गरिएको प्राधिकरणले ट्वीटमार्फत जनाएको छ । करिब ७ दशकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ नेपाल वायुसेवा निगमले गर्दै आएको थियो । अधिकारीहरुका अनुसार यो सेवाका लागि मात्र उपकरणमा साढे २ अर्बभन्दा बढी लगानी गरेको छ । वायुसेवा निगमको आम्दानीको मुख्य स्रोत ग्राउण्ड ह्याण्डलिङ मानिन्छ ।

वायुसेवा निगमले आर्थिक वर्ष २०७८÷७९ मा गरेको १६ अर्ब ४ करोड कुल आम्दानीमध्ये ३ अर्ब १८ करोड ग्राउण्ड ह्याण्डलिङबाट आर्जन गरेको थियो । यस्तो आम्दानीबाट १५ प्रतिशत रकम रोयल्टीबापत भनेर नागरिक उड्डयन प्राधिकरणले लिने गरेको थियो । अब भने ग्राउण्ड ह्याण्डलिङ नै खोसेको छ । विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवा वायुसेवा निगमबाट खोल्ने प्रयास यसअघि पनि भएको थियो ।