न्युयोर्क
नेवा गुठी न्युयोर्कको आठौँ महाधिवेशन न्युयोर्कको ज्याक्सन हाइटस्थित थकाली रेस्टुरेन्टमा भव्यरुपमा सम्पन्न भएको छ । गुठीका संस्थापक प्रमुख अतिथी बीके नेवाले पानसमा बत्ति बाली कार्यक्रम शुभारम्भ गरेका थिए ।
कार्यक्रममा गुठीका उपाध्यक्ष विजयमान सिंहले स्वागत भाषण गरेका थिए भने सचिव सन्तोष महर्जनले वार्षिक प्रतिवेदन र सहकोषाध्यक्ष हृदय तुलाधरले वार्षिक आयव्यय वितरण प्रस्तुत गरे ।
कार्यक्रममा पूर्वअध्यक्षहरु आदित्य महर्जन, समीर महर्जन, धर्मेन्द्र गोपाली, संस्थापक उपाध्यक्ष न्हुच्छेनारायण डंगोल, मीन नकर्मी, प्रकाशधर तुलाधरले नेवा गठीको अवश्यकता र यसको महत्वबारे प्रकाश पार्नुभएको थियो । उहाँहरुले नेपालमा सरकारले नेवाहरुको कला संस्कृति मास्ने काम गरेकोमा आपत्ति जनाउँदै नेवाहरुको कला र संस्कृति जोगाउन देश विदेशमा रहेका सम्पूर्ण नेवाहरुलाई एकजुट हुन आह्वान गर्नुभयो ।

अध्यक्ष निर्मल प्रधानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उहाँले आफूले गरेका कामबारे प्रकाश पार्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिनुका साथै नयाँ कार्यसमितिको सफलताको कामना गर्नुभयो ।
उहाँले कार्यक्रम सफलताको लागि विभिन्न सामग्री लगायत खानाको व्यवस्था गर्ने नेपा फेसन हाउस, समीर महर्जन, सूर्य महर्जन, नेपाल आदिवासी जनजाति महासंघलाई धन्यवाद दिनुभएको थियो ।
नयाँ कार्यसमितिको अध्यक्षका लागि विजयमान सिंह र सुवर्णकुमार शाक्यले उम्मेदवारी दिएका थिए । नयाँ कार्य समिति चयनका लागि निर्वाचन प्रमुख हुनुभएका पूर्वअध्यक्ष समीर महर्जनले प्रजातान्त्रिक तरिकाले निर्वाचन गराएका थिए ।
निर्वाचनमा विजयमान सिंह अध्यक्षमा विजयी भए भने कार्यसमितिका अन्य सबै पदाधिकारीहरु भने निर्विरोध निर्वाचित भएका छन् ।

कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा अतिथिहरुलाई नेवारी परम्परा अनुसार उसिनेको अण्डा, माछा र रक्सीको सगुनसहित टीका र खादा प्रदान गरिएको थियो ।
महिलाहरुको विशेष भूमिका रहेको सो कार्यक्रमको सञ्चालन सुवर्णकुमार शाक्यले गर्नुभएको थियो ।
महाधिवेशनबाट नयाँ कार्य समितिको अध्यक्षमा विजयमान सिंह, उपाध्यक्षमा राजेन्द्र महर्जन र राजन कर्माचार्य, महासचिवमा सन्तोष महर्जन, सचिवमा रामकृष्ण महर्जन, कोषाध्यक्षमा हृदय तुलाधार चयन हुनुभएको छ भने सदस्यहरुमा मीनलाल नकर्मी, राजेन्द्र महर्जन, राजेन्द्र श्रेष्ठ, निर्मल चित्रकार, पशुपति श्रेष्ठ, सरिता श्रेष्ठ, वीरेन्द्र मानन्धर र कविना महर्जन रहनुभएको छ ।