काठमाडौं । दशैंको चाप सकिएसँगै नौबिसे नागढुंगा सडक खण्डको मर्मत शुरु भएको छ । सोही प्रयोजनका लागि यातायात एकतर्फी सञ्चालनमा ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार धुनिवेशी नगरपालिका ९ पिपलामोडभन्दा तल भूत घर, याक घर र टायल घरस्थित सडक खण्डमा कालोपत्रे गर्ने काम जारी छ ।
सोही कारण एकतर्फी सवारी संचालनमा ल्याई काम जारी रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म एकतर्फी सडक चलाइएको छ ।
यस दिन अन्य दिनको तुलनामा कम सवारी चाप हुन्छ । यस सडकखण्डमा साँघुरो संरचनाका कारण सवारी साधनको ठूलो चाप लाग्ने गरेको छ । एकतर्फी सवारीका कारण केही समय भने सास्ती हुने छ ।