अमृता के सी ( रोनी )
काठमाडौँ, भाद्र ६ । गिरिजा प्रसाद कोइराला फाउण्डेशन काठमाडौं क्षेत्र नं. ४ (२) मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।सामाजिक क्रियाकलाप सक्रिय जिपि कोइराला फाउण्डेशनले बूढानीलकण्ठ नगरपालिका वडा नं १३ नौलिन भद्रकाली मन्दिर परिसरमा शनिबार रक्तदान आयोजना गरेको हो । रक्तदान कार्यक्रममा ६९ जना रक्तदाताले रक्तदान गरेका थिए।

रक्तदान कार्यक्रम जिपि कोइराला फाउण्डेसन क्षेत्र नं ४ (ख) का अध्यक्ष बिजेन्द्र श्रेष्ठकाे सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथिको रुपमा पूर्व स्वास्थ्यमन्त्री एवं काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापा र विशेष अतिथिमा बागमती प्रदेश सभा सदस्य न्हुच्छेनारायण श्रेष्ठ सहभागि भएका थिए। स्थानीय युवाहरूकाे सक्रिय सभागितामा सम्पन्न रक्तदान कार्यक्रममा सांसद गगन थापाले फाउण्डेसनले समाजसेवाकाे क्षेत्रमा पुर्याइरहेकाे याेगदान मूल्यांकनयाेग्य भएकाे बताउँदै फाउण्डेसनकाे क्षेत्र नं ४ ख ले बूढानीलकण्ठको विविध क्षेत्रमा गरेको कार्यको प्रशंसा गरेका छन् ।

“रक्तदान नै जीवनदान” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै गरिएको कार्यक्रममा सय जना भन्दा बढी रक्तदाताहरु सहभागी भए पनि स्वास्थ्य साथै विविध कारण रक्तदाता कम भएको कार्यक्रम संयोजक विजेन्द्र श्रेष्ठले बताए। साथै उनले कोभिड १९ को विषम परिस्थितिमा रक्त अभाव भइ रगतको लागि हस्पिटलमा बिरामीका परिवारले भोग्नु पर्ने समस्या कम गर्न साथै बिरामीको जीवन रक्षा गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको बताए।कार्यक्रममा रक्तदाता र सहयोगीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो।
