पुरुषोत्तम लम्साल [email protected]
आजको बसाई गत हप्ता विश्वसन्देशको यही कुनोमा ‘न्युजविकले नेपालमा किन जन्मायो मार्क्स ?’ शीर्षककै निरन्तरता हो । न्युजविकले प्रकाशन गरेको मदन भण्डारीको सरप्राइजिंग अन्तर्वार्तालाई लिएर नेपाली वामपन्थले मच्चाउने वा मच्चाइरहने हौवा र हल्लालाई न्युजविककै ‘ब्राण्ड’मा टेकेर उक्त विचार केलाइएको थियो । प्रकाशनको आकार र स्थानले स्वार्थ र प्राथमिकता पनि निर्धारण गर्दछ भन्ने मान्यतालाई सञ्चारविज्ञानको कोणबाट केलाउने बोल्डिंगको मतअनुसार हेर्दा पनि मदन भण्डारीको उक्त अन्तर्वार्ता कुनै संयोगभन्दा नियोजित (प्लान्ड पनि र प्लान्टेड पनि) कन्टेन्ट रहेको दावी गर्न सकिन्छ । मदन भण्डारीको त्यति ठूलो अतिरञ्जना (अस्वाभाविक बढाईचढाई) गर्ने न्युजविकले उनको निधन (१५ मे, १९९३) भएको एक हप्तापछि (२७ मे, १९९३) छापिंदा कुनै ‘बाल’ दिएन । यस्तो अवस्थामा प्रकाशनको कभरेजको कन्ट्युनिटी र फ्रिक्वेन्सी अध्ययन गर्नेहरुले न्युजविकले छापेको मदन भण्डारीको अन्तर्वार्ताभित्र पर्याप्त सूचना र स्वार्थ मात्र देख्छन् वा भेट्छन् । मदन भण्डारीलाई माक्र्स बनाएर दक्षिण एसियाको वाम ध्रुवमा घुएँत्रो हानेको न्युजविकभित्र आजको मितिसम्म पनि मदन भण्डारीको बिस्तृत अर्काइभ भने छैन वा भेटिदैन ।
रुसी धूरीको जयगान;
शक्तिशाली देशहरुका मुख्य प्रकाशन सत्ताको आँखा र कान दुबै हुन् र हुन्छन् भनेर पहिल्यै भनिएको छ । यस्तो अवस्थामा ‘सबै कम्युनिष्ट जासुस र सबै कम्युनिष्ट राष्ट्रिय सुरक्षाका लागि खतरा’ देख्ने अमेरिकी चरित्रलाई नै आधार नीति मान्ने न्युजविकले मदन भण्डारीको देवत्वकरण गर्नु नेपाली वामपन्थका लागि अस्वाभाविक उपलब्धी होला तर तात्कालीन रुसी मामिलामा केन्द्रित रहेर अध्ययन गर्नेका लागि उक्त अन्तर्वार्ता अचम्म लाग्दैन । किनकि, देश र विश्वका लागि नयाँ विचार भन्दै रुसमा मिखायल गोर्वाचोभले पेरेस्त्रोइका घोषणा गर्दा अमेरिकी सञ्चार माध्यमहरुले गोर्वाचोभलाई ‘पुनर्जागरण र पुनसंरचनाका आर्किटेक्ट’ घोषणा गरेकै हुन् । ‘साम्यवादी विचारको पुनव्र्याख्या गर्न पेरेस्त्रोइकालाई लचक दृष्टिकोणसहितको मियो’ स्वीकार गर्ने न्यूजविकले नेपालमा मदन भण्डारीको विचार र कार्यक्रमलाई पनि समान ब्याख्यासहित विश्लेषण गरेको देखिन्छ । किनकि, अन्तर्वार्ता मदन भण्डारीलाई पश्चिमा लोकतन्त्रको आधारभुत शर्तहरुमाथि प्रतिवद्धता (कमिटमेन्ट) व्यक्त गर्ने वा गराउने वा गरेको शैलीमा मात्र प्रकाशन भएको देखिन्छ ।
लक्ष्य के हो ? खुल्लापनसहितको उदार प्रजातन्त्र
मार्ग के हो ? जनताबाट चुनिएर वा निर्वाचनबाट ।
गोर्भाचोभ निर्देशित सामाजिक खुल्लापन सम्बन्धि ग्लासनोस्तको अवधारणा र मदन भण्डारीकृत भनिएको जनताको बहुदलीय जनवादको अवधारणामा तात्विक भिन्नता भेटिंदैन । राजनीति, सँस्कृति, बौद्धिकता, सञ्चारमा राज्यको नियन्त्रण संकुचित बनाउँदै पक्षपोषण गरिने उदारताको ग्लासनोस्तको आत्मा जबजमा दुध र पानी जसरी घोलिएको छ भने असीको दशकदेखि नै गोर्वाचोभलार्य उचाल्दै आएको न्युजविकले मदन भण्डारीलाई स्थान दिनु उल्का खस्नु होइन । किनकि, न्यजविकको अर्काइभमा वाक तथा अभिव्यक्ति स्वतन्त्रता, सूचना स्वतन्त्रता, नागरिकलाई सार्वजनिक बहसको अनुमति, उपभोक्तवादको प्रवर्धन, गुणस्तरीय जीवनको वकालतमा जहाँजहाँ गोर्वाचोभ उभिएका छन् त्यहाँत्यहाँ न्युजविकको जोडदार समर्थन भेटिन्छ । अब अमेरिका र पश्चिम युरोपले घनिभुत विचार मान्दै आएको ‘प्रगतिशील उमेदवारहरुमार्फत पार्टीको कायाकल्प बदल्ने’ घोषणासहित ‘संस्थागत तथा नीतिगत सुधारको योजना गरी मतको रक्षा र मतपत्रको सुरक्षा’समेत गर्ने लाइन स्पष्ट गरिदिएपछि न्युजविकले खोजेको स्थानीय पात्रमा मदन भण्डारीबाहेक अरु को हुनसक्थ्यो ? ‘स्थानीयमा बहुदलीयता र केन्द्रमा बहुदलीयता’लाई धार र धारा बनाएपछि ठ्याक्कै कित्ताकाट भएको नेपाली वामपन्थमा न्युजविकले खोजेको र पछ्याएको सबैभन्दा योग्य उमेदवार नै मदन भण्डारी थिए मिडियाको कोणबाट ।
‘निश्चित मुद्दामाथि यथासक्य सार्वजनिक चर्चा र जनतासम्म सूचना प्रवाह गर्ने अभिभारा’को ग्लासनोस्तको मर्मलाई मदन भण्डारीले टनकमुर मुद्दामा सफलतापूर्वक लागू गरेको देखिन्छ । क्षेत्रीय तथा स्थानीय संगठनमा समेत चुनावको कार्यक्रम लागू भएपछि पार्टी निर्देशित परिवर्तन र पार्टीको प्रजातान्त्रिकरण हुनु र देखिनु स्वभाविक हुन्छ । सामाजिक वा राष्ट्रिय संरचनाहरुबाट पार्टीको सर्वोच्चता अस्वीकार हुँदा मात्र पश्चिमा सञ्चारले लोकतन्त्र र लोकतान्त्रिक देख्ने हो । त्यसैले २०४६ सालको जनआन्दोलनअघि जसरी नेपालको वामपन्थी ध्रुवीकरणको कित्ताकाट भएको थियो, त्यही बिन्दुबाट नेपालको राजनीतिमा मदन भण्डारीको आक्रामक उदय र शान्त अवसान भएको भेटिन्छ । आक्रमक उदय किनभने प्रतिबन्धित राजनीतिमा मदन भण्डारीको छवी निर्माण भइसकेको भेटिदैन । २०४४ सालदेखि सोभियत संघलाई हेर्ने तात्कालीन मालेको दृष्टिकोणमा जसै ठोस र स्पष्ट परिवर्तन आउँछ र माओ विचारधारालाई परित्याग गरेर सोभियत संघलाई समाजवादी मान्यता प्रदान गरिन्छ, त्यहाँबाट मदन भण्डारीको राजनीतिक दौडले गति लिएको भेटिन्छ । (त्यो बेला मोहन विक्रमको मसालबाट फुटेर मोहन बैद्यले नेतृत्व लिएको मशाल जसको नेतृत्व सेक्टर काण्डपछि प्रचण्डको पोल्टामा गयो, निर्मल लामाको चौथो महाधिवेशन वा चौम र रुपलाल विश्वकर्माको सर्वहारा श्रमिक संगठन देखि भारतबाट फुत्तै आएर जनआन्दोलन संघर्ष समितिको बाटो हुँदै पञ्चायतविरोधी आन्दोलनमा जोडिएका बाबुराम भट्टराईहरु चीनियाँ धारको नेतृत्व गर्ने समूहमा पर्दथे भने मनमोहन अघिकारीदेखि साहाना प्रधान हुँदै मदन भण्डारी, झलनाथ खनाल, माधवकुमार नेपाललगायतले रुसी धारको कित्ता सम्हाल्थे । नेपाली वामपन्थमा चिनियाँ धार र रुसी धारबीचको घर्षणको अलग पाटो छ जहाँ एउटा धार कमजोर हुँदा अर्को धार फँडा फिजाउँदै जाग्छ र यस्तो घर्षणको निश्चित आवृत्ति रहेको भेटिन्छ । यसबारे अलग्गै लेखमा चर्चा गरौंला)
र, चानचुन चार वर्षको सार्वजनिक राजनीतिमा मदन भण्डारीले वायुको वेगमा राजनीतिको पखेटा फिंजाएको देखिन्छ । यसलाई पुष्टि गर्न मदन भण्डारीको अन्तर्राष्ट्रिय दौड (भेटघाट र संवादको तीब्रता) देखि निधन हुनु साता दिन अघिमात्रको कोलकाता सम्मेलनसम्म हेर्दा हुन्छ । चालिस वर्षको उमेरमा निर्माण भएको मदन भण्डारीको त्यो करिस्म्याटिक एवम् चामत्कारिक राजनीतिक व्यक्तित्वको निर्माणमा न्युजविकको हेडलाइन ‘कहीं न कहीं’ सहायक रह्यो ।
तर त्यहाँसम्म पुग्नुअघि पुष्पलाल समूहबाट मदन भण्डारीको विद्रोह (मुक्ति मोर्चा), अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेसन केन्द्रदेखि २०३४ को एकता, मालेको उदय, २०३९ सालको पार्टी स्वतन्त्रता कि राजनीतिक स्वतन्त्रताबारेको बहस, नेकपा मनमोहनसँगको अलाइन्सदेखि नेकपा माक्र्सवादीसँगको एकतासम्मको यात्रा केलाउनपर्ने हुन्छ । विखण्डित वामपन्थीलाई सम्बोधन गर्ने कार्यक्रमबारे मदन भण्डारीको सार्वजनिक विचारहरुको सापेक्षतामा अध्ययन गर्नपर्ने हुन्छ । किनकि, विचार र व्यक्तित्वलाई न्युजविकले गर्ने मूल्यांकनका पाँचवटा आधारबारे हामीले अघिल्लो अंकमा केही उल्लेख गरेका छौं ।
सर्वहारा सत्ताबाट सामाजिक लोकतन्त्र र बहुदलीय प्रतिष्पर्धा र कार्यक्रममा सिफ्ट भएपछि, सामाजिक संस्थाको निर्माण र त्यसमा मध्यमर्बीय कार्यकर्ताको परिचालनमा लगानी र लगानीको खोजी भएपछि शक्तिशाली मिडियाले प्रवद्र्धन योजनाको उपयोग गर्नु अचम्म होइन । मिराज अफ डेमोक्रेसीमा जोनाथन स्टिल ‘असीको दशकको रुस, गोर्वाचोभ र नब्बेको दशकको यल्तसीन जस्तै पात्र, नीति र कार्यक्रममा पश्चिमले आफ्नो साधन, स्रोत र शक्ति खन्याएको’ देख्दछन् । रुसमा खुश्चेभकालीन ‘शान्ति र सहअस्तित्व’को सिद्धान्तमा प्रतिवद्ध भइसकेपछि र ‘पूँजीवादका सबै पक्षलाई एकमुष्ठ अस्वीकार गर्नहुँदैन’ भन्ने विचारलाई संस्थागत स्वरुप र प्रक्रियाबाटै सफलतापूर्वक क्रियान्वयन गरिसकेपछि मदन भण्डारी न्यूजविकका लागि नेपाली माक्र्स हुनु अनौठो होइन । किनकि, न्युजविकले गर्ने माक्र्सको परिभाषाले सार्वभौमिकता बोक्दैन । र, न्युजविक नै ध्रुवसत्य कहीं पनि होइन ।
मदन भण्डारीको बैचारिक घुम्ती ‘टर्न’लाई केलाउन यहाँ सम्भव छैन । तर नेपालको कम्युनिष्ट आन्दोलनमा जनताको बहुदलीय जनवाद (माधवकुमार नेपालको दावी अनुसार अगाडिको जनता शब्द मदन भण्डारीको कार्यक्रममा थिएन) नामको कार्यक्रमसम्म पुग्न चाँहि पुष्पलाल, पहिलो पर्चा, बैधानिक राजतन्त्रको कार्यक्रम, केशरजंग रायमाझीको माक्र्सवादको सिर्जनात्मक प्रयोगदेखि मदन भण्डारीको माक्र्सवादको सापेक्षतामा प्रयोगसम्म चाहार्नपर्ने हुन्छ । गणतन्त्रको लाइन कहाँबाट उठ्यो र कहाँ पुगेर झुक्यो भन्ने केलाएको बखत मदन भण्डारीको राजनीतिक उठान र वैठानबारे अझ थप केलाउन सकिन्छ । हामीले चिलीमा एलेण्डेको उदयको सापेक्षतामा जसरी नेपालमा नेकपा एमालेको उदयका घटना र परिघटना जोड्छौं, त्यसैगरि कहिल्यै फेक कम्ब्याट वा फाल्सा कोन्फ्रन्टोसियनका कथाहरुलाई केलाउने प्रयत्न गरेका छैनौं । समाजवादी अभियान रोक्न, सोभियत धुरीमा हलचल पैदान गर्न, राजनीतिक अस्थीरतालाई आफू अनुकूल प्रयोग गर्न प्रजातान्त्रिक सरकारहरुको बाटोबाटै के सम्म हुन्छ भनेर सेञ्चुरी अफ रेभोल्युसनमा गिल्बर्टले केलाए जसरी केही केलाएनौं । हामीले खराब निर्देशकको हातमा कथा सुम्पिएर असल चलचित्रको अपेक्षा त गरेका थिएनौं ? खराब कथाका कारण नायकको जीवन्त अभिनय नै खेर गएको त थिएन ? माक्र्सवादको विलास र क्रान्तिका रोमान्सको घेराबाट बाहिर निस्किएर सत्य खोज्ने यत्न पो हामीले कहिल्यै गर्यौ र ?