न्युयोर्क । अगष्ट ५, २०२२
नेवा संस्कृति, भाषा र परंपरालाई प्रवासमा पनि जीवन्त राख्दै निरन्तरता प्रदान गर्नका लागि अमेरिकाको न्युयोर्क सहरमा ३ दिने चौंथौं विश्व नेवा सम्मेलन २०२२ शुरु भएको छ । न्युयोर्कको क्वीन्सस्थित लग्वार्डिया प्लाजा होटलमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रस्तुति सहित ३ दिने सम्मेलन शुरु भएको हो ।


नेवा गुठी न्युयोर्क र वर्ल्ड नेवा अर्गनाइजेशन न्युयोर्क च्याप्टरको आयोजनामा भएको सम्मेलनको शुरूवात नेवारी भाषाको चलचित्र “कर्म” को प्रदर्शन सहित गरिएको थियो । फिल्मको निर्माण र मर्म उपर निर्माता राजेन्द्र शाक्यले मन्तव्य राखेका थिए । विशेष अतिथी वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ तथा गायक यमन श्रेष्ठले कार्यक्रममा आफ्नो अनुभव तथा गीत प्रस्तुत गरेका थिए ।


नेवारी भाषामा नै सम्मेलनका महासचिव बिशव राजोपाध्यायले कार्यक्रम सञ्चालन गरेका थिए भने कन्भेनर समिर महर्जनले कार्यक्रमको महत्वमाथि प्रकाश पारेका थिए ।


सम्मेलनमा उपस्थित पाहुनाहरुलाई गाला डिनर सहित साँगीतिक माहोलले मनोरञ्जन प्रदान गरेका थिए । सम्मेलनको पहिलो दिन नेपालीहरुको उत्साहजन उपस्थिति देखिन्थ्यो । भोली र पर्सी हुने कार्यक्रमका बारेमा गुठीका अध्यक्ष बिजयमान सिंहले पर्चा सहित जानकारी गराएका थिए ।