बिष्णु सिंह, न्युयोर्क।
गोर्खाली समाज न्युयोर्कले भूपु उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र न्युयोर्कमा रहेका नेपाली समुदायबीच एक छलफल र अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो। अन्तरक्रियाको बिषय थियो : १, राष्ट्रिय बिकासमा प्रवाशी नेपालीको भूमिका २, बैदेशिक लगानी, नीतिनिर्माण र सांस्कृतिक संलग्नता ।
यो समग्र देशको चासो र चिन्ताको बिषय थिए। भ्रष्टाचारले दरिद्र बनेको बर्तमान नेपालमा यी बिषयहरु निकै महत्वपुर्ण र गम्भीर थिए। माओबादी नेता श्रेष्ठले अमेरिकामा आएर सम्बन्धित शिक्षा हाशिल गरेका, बिषयबस्तुका जानकार र अनुभवि व्यक्तित्वहरुसँग अन्तरक्रिया गरेर उपलब्ध ज्ञान नेपालको प्रगतिमा प्रयोग गर्न सके देशलाई फाइदा हुने अनुमान गर्न सकिन्थ्यो।
कार्यक्रममा विशिष्ट महत्व दिएर बोल्न दिएकाहरुमा वकिल खगेन्द्र जिसी, संजय थापा, आनन्द बिष्ट, बिष्णुमाया परियार र अन्य जातजाति सस्थाका प्रतिनिधि थिए । सबैले एन आर एनको माग र सरोकार प्रति नेपाल सरकारले कुनै चासो नगरेको गुनासो गरे। साथै एन आर एनमा गुटबन्दी र पार्टी र नेता प्रति बढी झुकावले एन आर एनको चासो र चिन्ता ओझेलमा परेको बारे चिन्ता व्यक्त गरे। तर कसैले पनि कार्यक्रमको निर्धारित बिषयबस्तु ‘राष्ट्रिय विकासमा प्रवासी नेपालीको भुमिका’ मा बोलेको सुनिएन।

तर बीचबीचमा कार्यक्रम संचालकले टीभीको तुक न ताकको आफ्ना अनुभव सुनाउन थाले। तिन-चार पटक यिनैले भाषण गरे। अनि बिषय बस्तुमा अध्ययन गरेर, नोट बनाएर उदहरणहरु समेटेर बोल्न माग गरेका बक्ताहरुले मौका पाएनन । त्यसैले बिस्तारै हल खाली भईसकेको थियो।
पुर्व निर्धारित बिषय बस्तुमा कार्यक्रममा कुनै छलफल नै नगरेपछि सहभागीहरु कार्यक्रम सकिन अगाडि नै बाहिरिए। त्यसपछि कतिपय सहभागीहरुले यो गोर्खे कार्यक्रम समयको बर्बादी मात्र रहेछ भन्न थाले । यसरी सत्यनारायण मन्दिरको कार्यक्रममा नारायणकाजीले बिना कुनै उपलब्धि ४ घण्टाको समय सत्यनाश गरे। त्यसैले यस्तो गहन बिषयको छलफल कुनै समाजले नभई नेपाली समाजका बिज्ञ व्यक्तित्वहरु निम्त्याएर माओबादी पार्टिले आफ्नो पहलमा कार्यक्रम गर्नु पर्ने जिकिर गरेकाछन।
समयलाई ठुलो महत्व दिने अमेरिका जस्तो देशमा आए पनि नेपालको गाउँले पाराले साझ ६ देखि ८ बजेसम्म कार्यक्रम गर्ने भनिएकोमा ७ बजेसम्म पनि शुरु भएको थिएन। अनि डिनर सहितको कार्यक्रम भने पनि पानी पिउने समेत चाजोपाजो थिएन। ७ बजे सम्महल अगाडिको लाईनमा २५ वटा मेचमा २० वटा खालि थिए। त्यहाँ कुनै सुचना पनि थिएन। एकदुई पत्रकार त्यहाँ बसेर समाचार सकलन गर्न खोजेका थिए। तर तिनलाई यौ विशिष्ट व्यक्तिहरुको लागि भनेर हटाईयो।
कार्यक्रम भरि बक्ताहरुबाट सुनिएको बिषय नै एन आर एनको लफडा र दोहोरो नागरिकता मात्र थियो। अब अहिले अमेरिकाले नै दोहोर नागरिकता लिनेको अमेरिकी नागरिकता चैट पारिदिने समाचारहरु व्यापक भईसकेको छ। यसले गर्दा अब “एकपटकको नेपाली सधैको नेपाली हुन् ” नेपालको मात्र नागरिकता लिनुपर्ने देखिएको छ। यसले गर्दा एन आर एनका राजनीति पनि चैट हुने देखिएको छ। अब कि नेपाली मात्र बन। या सिर्फ अमेरिकन मात्र बन्नु पर्ने देखिएको छ।