बीके नेवा, न्युयोर्क
न्युयोर्क । न्युयोर्क नेवा गुठीले तेश्रो पटक न्युयोर्कको ज्याक्सन हाइट्समा इन्द्रजात्रा भव्यरुपमा मनाएको छ । दुई वर्ष कोरोनाका कारण स्थगित यो जात्रा यस पटक भने भव्य रुपमा मनाइएको हो ।
पहिलेका जात्रामा कुमारीको मात्र पूजा गरिन्थ्यो भने यसपालि कुमारी, गणेश र भैरवको रथारोहण गरी परिक्रमा गराइएको थियो । लाखे नाचमा झ्याँलिन्चाले जिस्क्याउने नृत्य धेरै रोचकताका साथ प्रस्तुत गरिएको थियो ।
कुमारी,गणेश र भैरवको रथयात्रासँगै नेवारहरुले आफ्नो मौलिक पहिरन र महिलाले हाकु पटासीमा सजिएर धिमेसँगै नेवारी नृत्य गरी कार्यक्रमलाई अझ रोचक बनाएका थिए ।


कार्यक्रमको अन्त्यमा विभिन्न नेपाली संस्थाबाट आएका पाहुना, राजनीतिक व्यक्तित्व तथा सर्वसाधारणलाई इन्दजात्राको प्रसाद वितरण गरिएको थियो ।
नेवारहरु जहाँ बसोबास गरे पनि नेपालमा होस् वा सात समुद्रपारिको देशमा होस् उनीहरुले आफ्नो देश, आफ्नो कला, आफ्नो पहिचान, आफ्नो संस्कृतिलाई अति नै माया गर्छन् । यसलाई पुस्ता पुस्ता सम्मका लागि यस्ता कार्यक्रम गरी आउँदा पुस्तालाई देखाउने र सिकाउने गर्छन् । साथै, विदेशी भूमिमा नेपालको कला र संस्कृतिबारे प्रचारप्रसार गर्छन् ।


यस्तै विदेशमा बसेर आफ्नो कला संस्कृतिको जगेर्ना गर्ने साथै प्रचारप्रसार गर्ने उद्देश्यले सन् २००७ मा न्युयोर्क नेवा गुठी स्थापना गरिएको हो ।
नेवा गुठी स्थापना कालदेखि हरेक वर्ष नेपाल संवतका दिनलाई भव्यरुपमा मनाएर नगर परिक्रमा गरी शुभकामना आदानप्रदान गर्ने गरिन्छ । सोही अवसरमा राति सामूहिक म्हःपूजा गर्ने गरिन्छ । समय समयमा आउने चाडपर्वहरु इन्द्रजात्राआदि भव्य रुपमा मनाउने गरिन्छ ।



यस्तै आफ्ना भावी पुस्ताका लागि नेपाल भाषा र रञ्जना लिपि, धिमे बाजा सिकाउने कार्य गरिँदै आएको छ ।
नेवा गुठीले हालै एउटा ऐतिहासिक काम पनि सम्पन्न गरेको छ । गएको अगस्ट ५, ६ र ७ मा नेवा गुठीको वर्तमान अध्यक्ष विजयमान सिंहको नेतृत्वमा गुठी परिवार तथा अन्य संघसंस्थाको सहयोगमा चौथो विश्व नेवा सम्मेलन सम्पन्न गरेको छ ।


उक्त सम्मेलनमा अमेरिकाका विभिन्न राज्यबाट साथै देश विदेशबाट तीन सय जना प्रतिनिधि सहभागी भएका थिए ।
उक्त सम्मेलनमा नेवारी भोज, नेवारी पहिरन शो, नेवारी चित्रकला प्रदर्शन, नेवारी नृत्य, नेपाल भाषाको सिनेमा प्रदर्शनलगायत विभिन्न कलाकारहरुले नेपाल भाषामा गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।