न्यूजिल्याण्डकी प्रधानमन्त्रीको देशबासीलाई उपहार, साना व्यवसायीले राहत पाउने

Photo : Bangkok post

काठमाडौं । न्यूजिल्याण्डमा नवगठित सरकारले आफ्ना मतदाता तथा नागरिकका लागि आकर्षक सहुलियत प्याकेज ल्याएको छ । खासगरी साना व्यवसायीलाई बचाई राख्न विषेश राहत कार्यक्रम ल्याइएको हो ।

लेबर पार्टीबाट नवगठिन सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरसको महामारीका कारण साना तथा मझौला उद्योगमा ठूलो प्रभाव परेको छ ।

प्रधानमन्त्री जसिन्दा अर्डेर्नले साना व्यवसायी अर्थतन्त्रको महत्वपूर्ण अंश भएको बताउँदै अर्थतन्त्र बचाउन प्याकेज ल्याइएको बताएकी छिन् । उनका अनुसार यस अगाडी नै ल्याएका सहुलियत प्याकेजको अवधि समेत थप भएको छ ।

मन्त्रिपरिषद् बैठकपछि उनले देशबासीका नाममा सम्बोधन गरेकी थिइन । यसवर्ष म्याद सकिन लागेका राहत तथा सहुलियत कार्यक्रम सन् २०२३ को डिसेम्बर ३१ सम्म जारी रहने उनको भनाई छ ।

सरकारको घोषणा अनुसार अब साना व्यवसायीले एक बर्षदेखि दुई बर्षसम्म व्याज मिनाहा सहुलियत पाउने छन् । न्यूजिल्याण्डमा नवगठिन सरकारका मन्त्रीले शुक्रवार सपथग्रहण गरेका थिए ।

सोमवार पहिलो बैठक बसेको छ । अर्डेर्नले लगातार दोस्रो कार्यकाल सम्हालेकी हुन् । कोरोना भाइरसको महामारी व्यवस्थापन प्राप्त सफलताका लागि उनी दोस्रो पटक समेत लोकप्रिय मतसहित विजयी भएकी छिन् । एजेन्सी