न्यूयोर्कका नेपाली लायन्स क्लबहरूबाट संयुक्त रक्तदान सम्पन्न

न्युयोर्क

मानवीय सेवामा केही बर्षदेखि सक्रिय नेपाली लायन्स क्लवहरु Lions Club of Queens Queens Buddha र Lions Club of Queens KTM को संयुक्त आयोजनामा “Mission Lions Club: Blood Drive Event” यही मार्च ६ तारिखमा क्विन्स काउण्टीको ज्याक्सन हाइट्समा बृहद रक्तदान कार्यक्रम गरी सम्पन्न भएको छ ।

क्विन्स र लंग आइल्यान्डमा रहेका नेपाली तथा अन्य बिभिन्न समुदायका ब्यक्तिहरू, दुवै क्लबका लायन्स पदाधिकारी र सदश्यहरू लगायतका सामाजिक ब्यक्तित्वहरूले कार्यक्रममा रक्तदान गरेका थिए । न्यूयोर्क ब्लड सेन्टरसंगको प्राबिधिक सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा दुवै क्लबका लायनहरूले स्वयंसेवी भई रक्तदाताहरूलाई आवश्यक सहयोग गरेका थिए ।

लायन्स इन्टरनेशनल स्पेशल्टी संयोजक लायन कृष्ण आचार्य र डिस्ट्रिक्ट २०-१के का जोन चेयर लायन अर्जुन गौडेलको बिशेष उपस्थिति सहित उहाँहरूले गर्नुभएको रक्तदानले पनि रक्तदाताहरूमा थप उत्साह र प्रेरणा जगाएको थियो भने नेपालस्थित हेटौंडाको लायन्स क्लबमा हालै प्रेसिडेंट भै कार्य गर्नुभएकि लायन राधिका श्रेष्ठले समेत यो कार्यक्रममा स्वयंसेवी भै देखाउनुभएको लायन्सप्रतिको समर्पणले “Global Lionism” मा आवद्ध सबै लायनहरूको विश्व एकताको भावनाको तथ्य प्रकट भएको थियो ।

दुवै लायन्स क्लबका संयोजकद्वय लायन हजुरी शाह र लायन शिवजी खड्काको संयोजकत्वमा दुवै क्लवका बरिष्ठ लायन्स सदश्य तथा बोर्ड सदश्यहरूबाट भएका ब्यवस्थापकीय र अन्य गतिबिधिहरू अत्यन्त प्रभावकारी रहेको थियो भने कार्यक्रम संचालनमा दुवै क्लबका लायन्स सदश्यहरूको सहभगिता र सक्रियतालाई दृष्टिगत गर्दा अब नेपाली डायस्पोराका लायन्स क्लबहरूमापनि नेतृत्व क्षमता क्रमश बिकास हुँदै गइरहेको प्रष्ट देखिन्थ्यो ।

उक्त रक्तदान कार्यक्रममा कुल ४५ जनाले आफ्नो नाम दर्ता गरेतापनि प्रारम्भिक स्वास्थ्य परीक्षणबाट कुल ३५ जनाले मात्र रक्तदान गर्न छनौट भएका थिए । रक्तदान अवधिभर क्लब अध्यक्षद्वय लायन रीमाया नेपाली – Queens Buddha र लायन अशोक कार्की – Queens KTM ले सबै रक्तदाताहरूलाई प्रमाणपत्र बितरण गर्दै धन्यवाद ब्यक्त गर्नु भएको थियो । कोभिड शुरू भएदेखि नै यी दुई लायन्स क्लबहरूले नियमित रुपमा कम्तिमा प्रत्येक ३-३ महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेका छन् ।