न्यूयोर्कमा के मा व्यस्त छन् परराष्ट्रमन्त्री खड्का ?

न्यूयोर्क । संयुक्त राष्ट्रसंघ (यूएन) को ७६ औं महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क पुगेका परराष्ट्र मन्त्री डा. नारायण खड्काले सोमबार नेपालको तर्फबाट महासभालाई सम्बोधन गर्दैछन् । त्यसअगाडी उनी विभिन्न द्धिपक्षीय भेटघाटमा व्यस्त रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खड्काले न्यूयोर्कमा रहँदा यूएनको ‘पिस अपरेशन विभाग’ का उपमहासचिव जिन–पियरे लाक्वा र कुवेतका परराष्ट्रमन्त्री शेख अहमद नासिर अल–मोहमद अलसवाहसँग भेटवार्ता गरेका छन् ।

मन्त्री खड्काले यूएनको शान्ति सेनातर्फ यूएन मुख्यालय र स्थलगत रुपमा नेपालको उच्च तहमा सहभागिता बढाउन आग्रह गरेको मन्त्रालयले जनाएको छ । न्यूयोर्कस्थित यूएनका लागि नेपालको स्थायी नियोगका अनुसार मन्त्री खड्काले शान्ति सैनिक पठाउने सम्बन्धमा नेपाल र यूएनले सहकार्य गरेर अहिलेको अवस्थाभन्दा अझै बलियो बनाउँदै लानुपर्ने बताएका छन् ।

अर्को साइडलाइन वार्तामा खड्काले कुवेतका परराष्ट्रमन्त्री अलसवाहसँग कुराकानी गरेका छन् । भेटमा दुबै मन्त्रीले दुई मुलुकका साझा चासोबारे कुराकानी गरेका छन् । वैदेशिक कामदारको सहयोगबाट व्यापार, पर्यटन र लगानीको भूमिका खेल्ने विषयमा पनि उनीहरुबीच कुराकानी भएको छ । यसबाहेक अन्य उच्चस्तरीय भेटघाट भने भएका छैनन् ।