न्यूयोर्कमा रुश्दीमाथि आफुले आक्रमण नगरेको इरानको स्पष्टीकरण

haberler.com

तेहरान । इरानले सलमान रुश्दीमाथि साङ्घातिक आक्रमण गर्ने व्यक्तिसँग आफ्नो कुनै सम्बन्ध नभएको स्पष्ट पारेको छ । उसले यसमा रुश्दी स्वयमः दोषी भएको आरोप समेत लगाएको बीबीसीले लेखेको छ । अमेरिकाको न्यूयोर्कमा शुक्रवार आयोजित एउटा कार्यक्रममा छुरा प्रहार भएपछि ७५ वर्षीय रुश्दी गम्भीर घाइते भएका छन्। उनलाई एक दिन भेन्टिलेटरमा राखिएको थियो। अहिले उनी बाह्य सहायताबिना आफैँ सास फेर्न सक्ने अवस्थामा फर्किएको समाचारमा उल्लेख छ ।


यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले इरानको सरकारी सञ्चारमाध्यमले उक्त घटनाप्रति प्रसन्नता व्यक्त गरेको आरोप लगाउँदै त्यस्तो व्यवहारलाई नीचको सङ्ज्ञा दिएका थिए। द सट्यानिक भर्सिज उपन्यास प्रकाशित भएपछि रुश्दीले हत्याको धम्की पाइरहेका छन् । रुश्दीले एउटा आँखा गुमाउन सक्ने विवरण आएपछि इरानको सरकारी टेलिभिजन जाम(ए‍(जमले शैतानको एउटा आँखा बन्द भएको छ भन्ने सन्देश जारी गरेको समाचारमा उल्लेख छ ।

शुक्रवार रुश्दीमाथि आक्रमण भएको समाचार आउनेबित्तिकै सबैको ध्यान इरानको प्रतिक्रिया के हुन्छ भन्नेतिर गएको थियो। रुश्दीको उपन्यासले इस्लाम धर्मको अपमान गरेको निष्कर्षसहित तीन दशकअघि रुश्दीको हत्या गर्न इरानका सर्वोच्च नेताले फतवा अर्थात् धार्मिक आदेश जारी गरेका थिए। इरानी विदेश मन्त्रालयका प्रवक्ता नसिर कनानीले उक्त आक्रमणसँग आफ्नो देशको सम्बन्ध भएको दाबी अस्वीकार गरेको समाचारमा जनाइएको छ ।