न्यूयोर्क सहरका मेयरद्वारा मिथिला हेरिटेज कार्यक्रम आयोजना; मिथिला सम्पदा संग्रहालय बनाईने

न्यूयोर्क ।

न्यूयोर्क सहरका मेयर एरिक आडम्सले आफ्नो निवासमा आयोजना गरेको मिथिला हेरिटेज रिसेप्सनमा मिथिला सेन्टर युएसएका संस्थापक अध्यक्ष अमित प्रताप शाहले न्यूयोर्कमा मिथिला सम्पदा संग्रहालय बनाईने घोषणा गरेका छन् ।


म्यानहाटनस्थित ग्रेसी म्यानसनमा न्यूयोर्क सहरका मेयरद्वारा आयोजना गरेको ऐतिहासिक कार्यक्रममा मिथिला हेरिटेज रिसेप्शनले मिथिला क्षेत्रको समुदाय र सांस्कृतिक महत्वलाई जीवन्त बनाएको थियो ।

कार्यक्रममा मिथिला क्षेत्रको परम्परा झल्काउने गीत तथा नृत्य प्रस्तुत गरिएको थियो भने संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यका बारेमा सामुदायिक सचेतना एवं मिथिला कलाको भूमिकालाई उजागर गर्ने कला देखाइएको थियो ।

न्यूयोर्कका अधिकांश निर्वाचित पदाधिकारीहरू एवं जनप्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा नेपाल र भारत सरकारका उच्चस्तरीय अधिकारीको उपस्थिति थियो । त्यस्तै कार्यक्रममा न्यूयोर्कका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा न्यूयोर्क सहरकी उपमेयर मीरा जोशीले सांस्कृतिक विविधतालाई आफूले सधै संरक्षण गर्ने भन्दै मिथिलाको सांस्कृतिक महत्व र पहिचानलाई संरक्षण गर्न सबै लाग्नु पर्ने बताए । न्यूयोर्क सहरले ४०० औं जन्मदिवस मनाई रहँदा यस्ता सांस्कृतिक विविधतालाई अर्को पुस्तासम्म हस्तान्तरण गर्नु सबैको दायित्व भएको बताए । कार्यक्रममा न्यूयोर्क राज्यसभाकी सदस्य जेनिफर राजकुमार, न्यूयोर्क सिटी काउन्सिल सदस्य जुली वोनलगायतले मिथिला कला र संस्कृतिको महत्वका बारेमा बोलेका थिए ।

त्यस्तै मिथिला सेन्टर अमेरिकाका संस्थापक तथा अध्यक्ष अमित प्रताप शाहले मिथिलाको समृद्ध एवं सांस्कृतिक सम्पदालाई मान्यता दिन मेयर एरिक एडम्सल र स्थानीय सरकारले ऐतिहासिक कार्यक्रम गरेकोमा धन्यवाद दिए । सेन्टरले संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा प्रत्येक वर्ष प्रदर्शनी गर्दै आएको छ ।

मिथिला सेन्टर अमेरिकाका सह–संस्थापक तथा मिथिला हेरिटेज म्युजियमका अगुवा नवलकिशोर यादवले मिथिला सम्पदा संग्रहालयले न्यूयोर्क शहरको सांस्कृतिक विविधतालाई सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्याउने दाबी गरे ।

कार्यक्रममा मिथिला कला र सम्पदामा योगदान पुर्याउने विशिष्ट व्यक्ति तथा संस्थालाई न्युयोर्क शहरका मेयर एरिक एडम्सले हस्ताक्षर गरेको प्रशंसापत्रले सम्मान गरिएको थियो । सम्मानित हुनेमा मधेशी एसोसिएसन इन अमेरिका, एसोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा), विहार–झारखण्ड एसोसिएसन अफ नर्थ अमेरिका, रिजवुड नेपाली समाज, मिथिला सेन्टर अमेरिकाका संस्थापक सदस्य नवलकिशोर यादव र आशा शाहलगायत रहेका छन् ।

जनकपुर उपमहानगरपालिकाका मेयरका तर्फबाट मिथिला सेन्टर अमेरिकाको टोलीसहित संयुक्त राष्ट्रसङ्घका लागि नेपालका उपस्थायी प्रतिनिधि कौशल किशोर रोय र न्यूयोर्कस्थित नेपाली महावाणिज्य दुतावासका कार्यवाहक महावाणिज्यदूत चक्रकुमार सुवेदीले न्यूयोर्क शहरका मेयर एरिक एडम्सको कार्यालयलाई सीता मन्दिरको प्रतीक चिन्ह प्रदान गरे ।

संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यका लागि मिथिला हेरिटेज भन्ने नाराका साथ साताव्यापि प्रदर्शनी गरिएको हो । मिथिला सेन्टर अमेरिका, नेपाली स्थायी नियोग र नेपाली महावाणिज्य दुतावास न्यूयोर्कको संयुक्त आयोजनामा गरिएको प्रदर्शनी जुलाई १७ सम्म चलेको थियो ।

संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले प्रदर्शनीको औपचारिक उद्घाटन गरेका थिए । प्रदर्शनीमा स्थायी र पर्यवेक्षक नियोगका प्रतिनिधिका साथै दिगो विकास लक्ष्य कार्यक्रममा सहभागि हुन आएका अधिकांश देशका प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रदर्शनीमा एस के सुमन, प्रतिक रायमाझी, नुपुर निशिथ, शैली झा, शिभांगी सिंह, मनिशा शाह सिं लगायतका चित्रकारको चित्रकला प्रदर्शनी गरिएको थियो । त्यस्तै जनकपुर महिला विकास केन्द्रका कलाकारहरु सेलो यादाव, सुधिरा कर्ण, कोमल पूर्वे, निर्मला राम, मञ्जुला ठाकुर, सेब्ती मण्डल र अमृता दत्तको चित्रकला पनि प्रदर्शनीमा राखिएको थियो ।

प्रदर्शनीले मिथिलाका कलाकारहरूको जटिल र प्रतिकात्मक कलाकृतिहरूमार्फत वातावरण संरक्षणको सशक्त सन्देश र जलवायु परिवर्तनले पार्ने असरका बारेमा सचेत पारेको थियो ।