पठाओ कार्यालयमा तोडफोड गर्ने युवालाई आजिवन प्रतिवन्ध लगाउने कम्पनीको तयारी

file

काठमाडौं । सोमबार राइड सेयरिङ कम्पनी ‘पठाओ नेपाल’को मध्यबानेश्वरस्थित कार्यालयमा राइडरहरुले तोडफोड गरे । पछिल्लो केही दिनयता राइडरहरुले पठाओ नेपालको व्यवस्थापन विरुद्ध आन्दोलन गरिरहेका थिए । यसरी तोडफोडमा उत्रने राइडरलाई भने आफ्नो प्लेटफर्ममा आजिवन प्रतिवन्ध लगाउने तयारी कम्पनीले गरेको छ ।

खासगरी पठाओ प्लेटफर्म स्वच्छिक रोजगारीको माध्यम भएको र कम्पनीका नियम चित्त नबुझे यसमा भाग नलिन पाउने अधिकार हुँदाहुँदै भौतिक आक्रमणमा उत्रनु गलत भएको भन्दै कम्पनीले प्रतिवन्ध लगाउने तयारी गरेको हो ।

सोमबार प्रहरीले कार्यालय तोडफोडमा उत्रिएका ५ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाउने तयारी समेत छ । पठाओमा करीव ७५ हजार राइडर आवद्ध छन् ।

प्रयोगकर्ता भने करीव १२ लाख हाराहारी रहेका छन् । राइडरहरुले कम्पनीले ठूलो रकम कमिसनवापत लिने गरेको भन्दै घटाउन माग गरेका छन् । अहिले कम्पनीले कमिसन २० प्रतिशत लिने गरेको छ ।

कम्पनी कमिसन ८ प्रतिशतमा झार्नुपर्ने राइडरहरुको माग छ । कम्पनीले तोकेका नियम उल्लंघन गर्दा कम्पनीले गर्ने कारबाहीबारे पूर्व जानकारी दिनुपर्ने, कस्टमर केयर सेन्टरको फोन निशुल्क हुनुपर्नेसहित ११ बुँदे माग राख्दै राइडर आन्दोलनमा उत्रिएका हुन् ।

उता, कम्पनीले भने केही माग पुरा गर्ने नसकिने प्रकृतिको रहेको भन्दै इच्छा नहुने राइडर प्लेट फर्म नै नआउनु राम्रो विकल्प रहेको स्पष्ट पारेको छ ।