काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको आधारभूत तलब २५ प्रतिशत बढाउन सरकारलाई सिफारिस गरेको छ । समितिले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ‘श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस–२०७८’ प्रतिवेदन पेश गर्दै श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको न्यूनतम आधारभूत तलव २५ प्रतिशत बढाउन सिफारिस गरेको हो । हाल पत्रकारको न्यूनतम आधारभूत तलब २४ हजार ५०० रुपैयाँ छ ।
न्यूनतम आवश्यकता, बजार भाउमा आएको उतारचढाव र अन्य क्षेत्रमा कार्यरत श्रमजीवीहरूको तुलनात्मक पारिश्रमिक दरको अध्ययन गरी २५ प्रतिशतले तलव वृद्धिको सिफारिस गरिएको समितिको भनाई छ । प्रतिवेदन बुझ्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समितिको सिफारिस कार्यान्वयनका लागि छलफल गर्ने बताएका छन् ।