पदीय मर्यादा विपरित काम गर्ने तीन निर्वाचन अधिकृत फेरिए

काठमाडौं । तीन स्थानीय तहका निर्वाचन अधिकृत परिवर्तन भएको निर्वाचन आयोगले जनाएको छ । महोत्तरीको साम्सी गाउँपालिका, बाजुराको बुढीगंगा गाउँपालिका र रौतहटको मौलापुर गाउँपालिकाका निर्वाचन अधिकृत फेरिएका हुन् । साम्सीका निर्वाचन अधिकृत दिलिपकुमार प्रधान र बुढीगंगाका निर्वाचन अधिकृत निरञ्जन स्थापितलाई जिम्मेवारी पूरा नगरेको आरोपमा आयोगले कारबाहीको सिफारिससमेत गरेको छ ।

बुढीगंगाका निर्वाचन अधिकृत स्थापित समयतालिका अनुसार काम नगरेको र सम्पर्कविहीन भएको बताइएको छ । उनी मादक पदार्थ सेवन गरेको अवस्थामा भेटिएको बताइएको छ । आयोगले महोत्तरीको साम्सी गाउँपालिकाका निर्वाचन अधिकृत प्रधानलाई पनि निलम्बन गर्न सरकारलाई सिफारिस गरेको छ ।

गैरजिम्मेवार काम गरेको भनी आयोगले उनलाई हटाउनुका साथै उनको ठाउँमा विनोदकुमार दाहाललाई खटाएको छ । निर्वाचन चिह्न बाँड्ने दिनसम्म पनि उनले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न नसकेपछि कारेवाही गरिएको बताइएको छ ।