न्यूयोर्क
नेपालीको महान चाड दशैँलाई लक्षित गरेर मौलिक गीतहरु बजारमा आइरहेका बेला गायक तथा सर्जक बिष्णुहरी भण्डारीको दशैँ कोसेली ‘परदेशी’ गीतको भिडियो सार्वजनिक भएको छ ।
घटस्थापनाको दिन पारेर सार्वजानिक गरिएको उक्त भिडियोलाई बि एण्ड टी इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजानिक गरिएको हो । गायक तथा सर्जक बिष्णुहरी भण्डारीको शब्द तथा लय रहेको मौलिक दशैँ गीत ‘परदेशी’ बोलको गीतमा स्वयमं भण्डारीको स्वर रहेको छ ।

उक्त गीतको भिडियोमा सुरेन थापा, प्रमिला ढकालको मुख्य अभिनय रहेको छ भने सुदर्शन गुनि, पोष्टकुमारी थापा, कमला माया पण्डित, राजन कार्की, नारायण केसी, कमल अधिकारी लगायत कलाकारको बेजोड अभिनय प्रदर्शन गरिएको छ ।
हाल अमेरिकाको न्युयोर्क शहरमा रहेका नेपालीहरुले यो गीत प्रस्तुत गरेका हुन् । नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरेर निर्माण गरिएको मौलिक दशैँ गीतमा बालापनमा बिताएका साथी संगी, परिवार र बुढी आमासँग रमाईलो गरेका हरेक क्रियाकलापलाई भावमा समेट्न खोजिएको छ ।
विशेष गरी यो गीतले परदेशमा जीवन विताएका नेपालीहरु छिट्टै घर फर्किने र आफ्नै कथा ब्यथालाई आफ्नै गाउँ घरमा साथीसंगी मिलेर रमाइलो गरेको यथार्थलाई गीतकार बिष्णुहरि भण्डारीले शब्दमा उतारेका हुन् ।
नेपालीहरुको कला, सस्कृति र मौलिकतालाई प्रस्तुत गर्नको लागि आफूले सो गीतलाई फरक तरिकाबाट प्रस्तुत गरिएको र यस गीतले आपसी सद्भाव बढाउने उनको भनाई छ ।
ओम कर्माचार्यको निर्देशन रहेको भिडियोलाई ओम कर्माचार्यले नै छायाकंन र भिडियो सम्पादन गरेका छन् । ॐ मेगा रेकर्डिङ्ग स्टुडियोले संगीत संयोजन गरेको छ ।