परराष्ट्रमन्त्री खड्का न्यूयोर्क उडे

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क उडेका छन् । उनी ने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति न्युयोर्क प्रस्थान गरेका हुन् । भदौ २९ गतेदेखि प्रारम्भ भएको महासभाअन्तर्गत मङ्गलबारदेखि उच्चस्तरीय बैठक शुरु भएको छ । बैठकमा नेपालको प्रतिनिधित्व उनले गर्नेछन् ।

प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निमित्त परराष्ट्र सचिव प्रकाशकुमार सुवेदी लगायतका मन्त्रालयका उच्च अधिकारीले बिदाइ गरे । परराष्ट्रमन्त्रीले महासभामा सम्बोधन गर्नेछन् । उनको टोलीमा परराष्ट्र सचिव भरतराज पौड्याल, मन्त्रालयका सहसचिव सेवा लम्साल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईलगायत रहेको मन्त्रालयले जनाएको छ ।