काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीको हालै सम्पन्न १०औँ अधिवेशनको अध्ययन विना नै टिकाटिप्पणी भइरहेको बताएका छन् ।
पार्टीको जिल्ला अधिवेशनको भर्चुअलमार्फत संयुक्त रुपमा उद्घाटन गर्दै उनले एमाले अधिवेशनले पारित गरेका दस्तावेजले लिएको नीति र सिद्धान्तबारे अध्ययनविना नै विभिन्न टिकाटिप्पणी भइरहेको बताएका हुन् ।
एमालेविरुद्ध हल्ला फिँजाइएको भन्दै उनले भ्रममा नपर्न कार्यकर्ता र आममानिसलाई आग्रह गरे । गठबन्धन र नेकपा (एकीकृत समाजवादी)प्रति खरो टिप्पणी गरेका ओलीले गठबन्धनललाई प्रतिमगनको संज्ञा दिए ।
एमालेसँग अहिले पनि जनमत बढी रहेको दाबी गरेका उनले एकातिर अरु पार्टी र अर्काेतिर एमाले राख्दा पनि एमाले पनि शक्तिशाली रहेको बताए । आगामी निर्वाचनमा एमाले एक्लै चुनौतीको सामना गर्न तयार रहेको उनको भनाइ छ ।
‘सकारात्मक परिणाम आएन भनेर अनौठो मान्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘एमाले ठूलो पार्टी हो । एमालेलाई गठबन्धन चाहिँदैन । जो कमजोर छ उसैले चुनावसम्म नै यो गठबन्धन चाहिन्छ भनिरहेका छन् ।’
राष्ट्रिय सभाका रिक्त १९ पदका लागि १२ दलले चुनावमा भाग लिँदैछन् । मुख्यगरी सत्तागठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुँदैछ । पाँच दलीय सत्ता गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँड भइसकेको छ ।
गठबन्धनले कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५–५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चाले एक सिट पाएको छ ।१९ पदका लागि ४३ जना उम्मेदवार छन् ।