काठमाडौं । ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा सुरु भएको आन्दोलन जारी भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । आज बिहान ५ बजेबाट लागू हुनेगरी जिल्ला सुरक्षा समितिको बैठकले फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।
नो केबलकार पक्षको पदयात्राका क्रममा शनिबार साँझ फुङलिङ बजारको वीरेन्द्र चोकमा प्रहरीसँग झडप भएको थियो । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार प्रदर्शन र जुलुसका कारण स्थानीय स्तरमा प्रतिकूल स्थिति सिर्जना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थिति देखिएपछि शनिबार राति बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गरेको हो ।
पाथिभरा केवलकार विवाद अझै चर्कियोः फुङलिङ बजारमा झडप
प्रशासनले निषेधाज्ञा जारी भएको क्षेत्रमा पाँचजनाभन्दा बढी व्यक्ति भेला भएर सभा, जुलुस, प्रदर्शन गर्न पनि रोक लगाएको छ । फुङलिङ नगरपालिका बजार क्षेत्रमा सल्लेरी, घोडेचौर, उकालीपानी र शेर्पा टोलसम्म निषेधाज्ञा जारी भएको हो । काफ्लेपाटी–बल्लुडाँडा क्षेत्रतर्फ पर्यटक प्रहरी भवनको १०० मिटर इलाका, बल्लुडाँडा र डडेले इलाका, केबलकार बेस स्टेशन र नयाँ बसपार्क इलाकाको १०० मिटर यस्तो आदेश जारी भएको हो ।