परीक्षा हलमै टिकटक बनाएका विद्यार्थीको रिजल्ट रद्द, शिक्षकलाई कारवाही सिफारिस

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा पढ्ने एक विद्यार्थीका सम्पूर्ण परीक्षा रद्द गरिदिएको छ । परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राखेका कालिका माबि, दैलेखका विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द भएको हो । बोर्डले गत मंसिरमा भएको कक्षा १२ को परीक्षामा सहभागी शाहीले परीक्षा चलिरहेकै समयमा टिकटक बनाएर सामाजिक संजालमा भाइरल बनाएका थिए ।

बोर्डले उनको चालु खण्डको परीक्षा रद्द गरेको जनाएको छ । बोर्डले विद्यालयमा निरीक्षकका रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्रध्यक्ष चक्रबहादुर शाही तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही गर्न समेत सिफारिस गरेको छ । यसको निर्णय भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गर्नेछ । पछिल्लो समय टिकटिकमा भाइरल हुन अनेक हर्कत गर्ने प्रचलन बढेको छ ।