काठमाडौं । सरकारले नेपाल आउने पर्यटकलाई समेत अब अनअराइभल भिसा खुला गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनिवार्य क्वारेन्टिनको प्रावधान हटाएर अनअराइभल भिसा समेत दिन सकिने गरी प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ ।
मन्त्रालयका अनुसार ७२ घण्टा भित्रको पीसीआर परीक्षण गरेको नेगेटिभ रिर्पोट लिएर आउने पर्यटकका लागि विमानस्थलमा स्वाव संकलन गर्ने र रिर्पोट नेगेटिभ आउने पर्यटकलाई क्वारेन्टिन बस्न नपर्ने प्रस्ताव गरेको हो । पर्यटकलाई नेपाल आउन सहज होस भन्ने उद्देश्यले अनअराइभल भिसा समेत खोल्ने तयारी छ ।
यद्दपी यसको निर्णय भने मन्त्रिपरिषदबाट हुनुपर्छ । नेपालमा पर्वतारोहणको मौसम शुरु भएको छ । यसकारण पर्यटक आगमन सहज बनाउनु पर्ने माग व्यवसायीले गरिरहेका छन् । हिमाल चढ्न आउने पर्यटक र उनीहरुको सहयोगी नै नेपालमा सबैभन्दा खर्चालु पर्यटक मानिन्छन् ।
किनकी उनीहरु हरेक सिजनमा कम्तिमा तीन महिना नेपालमा बस्छन् । अहिले सरकारले कुटनीतिक नियोग र गैरआवासीय नेपालीका लागि मात्र अनअराइभल भिसा खुला गरेको छ । कोरोना भाइरसको महामारीका कारण यात्रामा अहिले पनि झण्झट बेहोर्नु परेको हो ।