काठमाडौं । लुम्बिनीबाट काठमाडौं आउँदै गरेको पर्यटक बसमा ३५ लाख ७३ हजार रूपैयाँ नक्कली नोट भेटिएको छ। बिहीबार नागढुंगामा लु १ प ५ नम्बरको पर्यटक बस चेकजाँचको क्रममा चाउचाउको कार्टुनमा र्याप गरी डिकीमा राखिएको अवस्थामा १ हजार दरका तीन हजार ५७३ थान नक्कली नोट बरामद गरिएको काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए।
नक्कली नोट बरामद भएको गाडीका चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रहरीले थप त्यससँग सम्बन्धित ९ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाउपालिका वडा ७ का ४० अर्जुन सुवेदी, २५ वर्ष सुशील कार्की, सुनकोशी गाउँपालिका-६ का २३ वर्षीय शिव भण्डारी, २३ वर्षीय मिलन भण्डारी र २४ वर्षीय कृष्ण भण्डारी छन्।
त्यस्तै, झापा कमला गाउँपालिका-३ का २९ वर्षीय युवराज राई, अछाम मेल्लेख गाउँपालिका-३ का २१ वर्षीय अर्जुन बुढा, गुल्मी वाडागाउँ गाउँपालिका-२ का सागर आचार्य र नवलपरासी सरावल गाउपालिका-१ का ५३ वर्षीया पार्वती नेपाली पक्राउ परेका छन्।
भक्तपुर चागुनारायण नगरपालिका(४ बाट पक्राउ गरिएको उनीहरूको साथबाट थप १७ लाख दुई हजार नक्कली नोट फेला पारेको एसपी ढुंगेलले जानकारी दिए। उनीहरूको साथबाट प्रहरीले मनिटर १ थान, सिपियु १ थान, किबोर्ड १, माउस १, कम्प्युटरसेट १, पेपर कटर मेसिन १ थान, कलर प्रिन्टर १ थान, प्रिन्ट पेपर रिम १, खुल्ला पेपर दुई सय पेज र १ थान नेपाली राहदानी बरामद गरेको छ।
त्यस्तै ३ थान मोटरसाइकल, १ थान स्कुटर, १२ थान मोबाइल र त्यसमा लाग्ने सिम पनि बरामद गरिएको एसपी ढुंगेलले बताए। पक्राउ गरिएको ९ जनालाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको उनले जानकारी दिए। नक्कली नोट बनाउने र कारोबार गर्नेलाई ५ देखि १० वर्षसम्म कैद र ५० हजारदेखि १ लाखसम्म जरिवाना हुने कानूनी व्यवस्था छ।