काठमाडौं । प्रतिबन्धित महंगा मदिराको आयात खुलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले मन्त्रिपरिषद्मा प्रस्ताव लगेका छन् ।
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकमा व्यवसायीको माग र मुख्य पर्यटकीय सिजनमा यसबाट पर्ने असरबारे छलफल भएको मन्त्री श्रेष्ठले बताएका छन् । मदिराको आयात लामो समय लम्ब्याउँदा पर्यटन क्षेत्रमा पर्ने असरबारे छलफल भएको समेत उनले बताए ।
होटेल व्यवसायीले मदिराको आयात खुलाउने वातावरण बनाउन माग गर्दै आएका छन् । अहिले नेपालमा पर्यटकीय सिजन चलिरहेको छ । गत १३ वैशाखदेखि मदिरा लगायतका चार प्रकारका वस्तु आयातमा प्रतिबन्ध लगाइएको थियो । सरकारले पटक पटक गरी यो प्रतिबन्धलाई मंसिर मसान्तसम्म लम्ब्याइसकेको छ ।