मेरो मौन भाषा
म आँफैलाई भन्दैछु
देशको कर्णधार बोकेर
म पलायन हुँदैछु
तिम्रो ढिकुटी भरिदा
म रित्तिन्दैछु ।
तिमीले नौ-पुस्ता पुग्ने बटुल्दा
म एकै-पुस्तामा सिद्धिदैछु
त्यसैले उज्यालो खोज्न
भविष्य खोज्न
मन नलागेर पनि
पलायन हुँदैछु
धेरैचोटि लाटो आँखाले हेरे
बैरो कानले सुने
छामछाम-छुमछुम गर्दै
देशलाई स्पर्ष गरे
अनि
पसिना बगाए
मेहनत गरे
हिम्मत जुटाए
तर
दुई छाक जुटाउन सकिन
तिमीले छरेको संस्कारमा
म हुर्कनै सकिन
यसैले,
म पलायन हुँदैछु
देशलाई बन्धक राखेर
नागरिकलाई बन्धक राखेर
स्वाभिमानलाई बन्धक राखेर
माग्नु माग्यौ नि छिमेकसँग
माग्न र थाप्नुको इतिहासमा
देशलाई स्विजरल्याण्ड बनाएर
सिङ्गापुर बनाएर
नेपाल बनाउन सकेनौ
मङ्गल ग्रहमा पानी
पत्ता लगाउने कर्णधार
आफ्नै देशमा वेरोजगार भएर
मनको ढाँडसबाट गिर्दैछन्
गिर्नबाट बाँच्न
म पलायन हुँदैछु
म पलायन नहुनलाई
पलायन हुँदैछु ।
अलिकति खुसी
अलिकति सन्तुष्टि
मनभरीको मानवता
मनभरीको राष्ट्रियता
मबाट नमरोस्
मर्नबाट जोगिनलाई
तिमी जस्तो नहुनलाई
पलायन हुँदैछु ।
दिपा राई पुन
बोष्टन, अमेरिका