काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा दुई वर्षअघि राखिएको जलहरी निकालेर तौल लिन सुरु गरेको छ । आइतबार अपरान्ह पुगेको आयोगको टोलीले पशुपतिनाथको गर्भगृहबाट जलहरी निकालेर मन्दिर परिसरमा तौल गरेको हो ।
सहसचिव शेरजंग कार्की नेतृत्वको टोलीमा अख्तियारकै प्रहरी, सुनचाँदीका कालिगढ र काठमाडौं महानगरपालिकाको वडा कार्यालयका प्रतिनिधि पनि छन् ।
पशुपतिनाथको शिवलिंगमा चढाइने अघ्र्य, जल तथा पञ्चामृत खस्ने भागमा लगाइने धातुको पाता नै जलहरी हो । शिवलिंगमा चढाइने सबै तरल पदार्थ जलहरीबाट ब्रम्हनालमा पुग्छ । पहिले तामा र त्यसपछि चाँदीको जलहरी राखिएकोमा दुई वर्षअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली पशुपति दर्शन गर्न गएका बेला सुनको जलहरी राख्ने र त्यसका लागि सरकारले ३० करोड रुपैयाँ दिने घोषणा गरेका थिए ।
प्रधानमन्त्रीको घोषणापछि पशुपति क्षेत्र विकास कोषले जलहरी निर्माणका लागि १०० किलो ४९३ ग्राम सुन आवश्यक पर्ने अनुमान गरेको थियो । त्यति सुनले जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किला लगायत आवश्यक सामान बनाउन पुग्ने अनुमान गरिएको थियो ।
पशुपति क्षेत्र विकास कोषको २०७७ साल माघ १४ गतेको निर्णय । सार्वजनिक खरिद ऐन छल्न बुँदा नं. ३ मा सार्वजनिक खरिद ऐन छल्न जलहरी निर्माणको ज्यादा भक्तालु दाताबाट भुक्तानी गर्ने भन्ने उल्लेख छ ।
तर कोषले २६ माघ २०७७ मा १०८ किलो सुन किन्ने निर्णय गर्यो र नेपाल राष्ट्र बैंकसँग पनि त्यति नै सुन किन्ने सम्झौता गर्यो । १२ फागुन २०७७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले जलहरी राख्न क्षमापूजा गर्दा १०८ किलोको जलहरी निर्माण गरिएको उल्लेख भएको ब्यानर राखिएको थियो ।
चाँदीको जलहरी भएको ठाउँमा सुनको राख्ने सरकारको निर्णयमा विवाद भएपछि यो विषयमा सर्वोच्च अदालतमा पनि मुद्दा परेको थियो । मुद्दाको सुनुवाइ हुने दिन नै तत्कालिन राष्ट्रपतिबाट जलहरी उद्घाटन गरिएको थियो ।
तर जलहरी राखेपछि त्यसमा प्रयोग भएको सुनको मात्रामा प्रश्न उठ्यो । कोषले नेपाल राष्ट्र बैंकसँग गरेको खरिद सम्झौता र महालेखाको प्रतिवेदनमा उल्लिखत विवरण आपसमा मेल खादैन ।
सम्झौतामा १०८ किलो सुन खरिद गर्ने उल्लेख छ भने कोषले १०३ किलो ७७३ ग्राम सुनमा अन्य धातुसमेत मिसाएर १०७ किलो ९२४ ग्राम भएको दाबी गरेको छ । जलहरी निर्माणका क्रममा २ किलो ८९० ग्राम तामा, १ किलो २४९ ग्राम चाँदी र १२ ग्राम जिंकसमेत मिसाइएको कोषको दाबी छ ।
तर महालेखा परीक्षकको कार्यालयले जलहरीमा ८० करोड ११ लाख रुपैयाँको ९६ किलो ८२२ ग्राम सुन प्रयोग भएको उल्लेख गरेको छ । बाँकी रहेको १० किलो ९७६ ग्राम सुनमा भने प्रश्न उठाएको थियो । जसको मूल्य ७ करोड ८६ लाख ४६ हजार रुपैयाँ हुन आउँथ्यो ।
त्यसपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुले १० किलो ९७६ ग्राम सुन मासेर खाए भनी अख्तियारमा उजुरी परेको थियो । प्रश्न उठेपछि कोषका पदाधिकारीले बाँकी सुनको रिङ बनाएर जलहरीलाई बाँधिएको जवाफ दिएका थिए । कोषको निर्णय पुस्तिकामा ‘साथै बाँकी रहेको सुनको टुक्राहरु रिङ बनाई जलहरीमा लगाइयो’ भन्ने शब्दावली थपेको देखिन्छ ।