पशुपति मन्दिरको शिवलिंग, छाना र बसाहामा १ अर्बको सुनको जलप लगाइने

काठमाडौं । सरकारले शव जलाउन समेत रकम नहुने गरिब जनताबाट समेत पशुपतिमा दाउराको मूल्य लिन्छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले धार्मिक मान्यता विपरित पशुपतिमा १ अर्ब रुपैयाँ भन्दा बढी मूल्य पर्ने सुनको जलप लगाउन निर्देशन दिएका छन् । धार्मिक मान्यता अनुसार भगवान शिवलाई सुन मन पर्दैन । त्यसकारण शिवमन्दिरमा चाँदीको प्रयोग बढी गरिन्छ । अहिले पनि पशुपतिको ढोका चाँदीबाट बनेको छ । सुन भगवान विष्णुको प्यारो धातु हो ।

तर, पशुपति क्षेत्र विकास कोषले धार्मिक मान्यता विपरित पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको जलहरि सुनको बनाउन लागेको हो । यसबाहेक पशुपतिनाथ मूल मन्दिर अघिको बसाहा र छानामा समेत सुनको जलप लगाउन लागिएको छ ।

शिवरात्रीसम्म सुनको जलप लगाएर अवलोकन गर्न सकिने व्यवस्था मिलाउने तयारी भएको दुई दिन अघि पर्यटन मन्त्री भानुभक्त ढकालले मन्त्रालयबाटै घोषणा गरेका थिए । कोषका अनुसार यो सबै कामका लागि १४२ किलोग्राम सुन प्रयोग हुने भएको छ ।

करीव १ अर्ब रुपैयाँ बजेटमा यो काम हुन लागेको हो । जसमा ६५ करोड कोष र ३० करोड सरकारको रकम खर्च हुने भएको छ । पशुपतिनाथको छाना र बसाहामा भने अहिले पनि सुनको जलप छ । शिवलिंगमा भने चाँदीको जलहरि छ ।