काठमाडौं । अमेरिकाका पश्चिमी राज्यहरूमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ । केही दिनअघिदेखि अलास्का, क्यालिफोर्निया, कोलोराडो, वाशिङ्टनलगायतका राज्यमा बढेको गर्मी आउने हप्तासम्म जारी रहने त्यहाँको मौसम विभागले जनाएका छन् । तापक्रम उच्च हुन थालेसँगै ठूल्ठूला डढेलोका घटना बढ्दै गएको बीबीसीले जनाएको छ ।
पश्चिमी अमेरिकामा झन्डै २ करोड जना मानिसलाई उच्च गर्मीबाट बच्न र सतर्कता अपनाउन सचेत गराइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि एरिजोनामा गर्मीका कारण एक जना बालकको ज्यान गइसकेको छ । तातो लहरले बालबालिकासहित अरू धेरै जना बिरामी भएका छन् ।
क्यालिफोर्नियाको डेथ भ्यालीमा तापक्रम यो हप्ता १ सय ३० डिग्री फरेनहाइटसम्म पुग्नसक्ने अनुमान छ । १ सय ३० डिग्री फरेनहाइट भनेको साढे ५४ डिग्री सेल्सियस हाराहारी हुन आउँछ ।