काठमाडौं । निरन्तरको वर्षा र बाढी पहिरोका कारण दशैंको समयमा मूख्य राजमार्गहरु अवरुद्ध बनेका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ । उता, सुनौली-पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ-गल्याङखण्ड पनि पहिरोले अवरुद्ध भएको छ ।
बिहान ४ बजेतिर गल्याङ-८ झोल्पेमा पहिरो खस्दा सडक अवरुद्ध भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्याङ्जा र कास्कीको सीमास्थित कुभिण्डेमा अवरुद्ध भएको सिद्धार्थ राजमार्ग भने एकतर्फी खुलाइएको छ । निरन्तरको वर्षाका कारण लम्जुङको बेंसीसहर र मनाङको चामे जोड्ने सडक अवरुद्ध भएको छ ।
मनाङको नासों गाउँपालिका–३ खोत्रोमा पहिरो खसेर सडक अवरुद्ध भएको स्थानीय प्रशासनले जनाएको छ । बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको असर उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा नेपालमा पनि निरन्तर वर्षा भइरहेको छ ।