काठमाडौं । मनसुनका बेला निरन्तर पहिरो जाँदा काठमाडौंलाई पश्चिम नेपालसँग जोड्ने एक मात्रा राजमार्ग मुग्लिन-नारायणगढ सडक खण्ड जोखिमपूर्ण बनेको छ । सोमबार पहिरोले रोकिएको सडक मंगलबार समेत बिहानैबाट ठप्प छ । गएराति ११ बजेदेखि नै यो सडक खण्ड ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका २९ को केराबारीमा ठूलो पहिरो जाँदा सडक अवरुद्ध बनेको हो ।
उता, भरतपुर महानगरपालिकाकै १७ किलोमा पनि पहिरो गएको छ । यस्तै, इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ३ नम्बर पुलको बीचमा पनि पहिरो गएको छ । नौबिसे-मुग्लिन सडक खण्डका केही ठाउँमा पनि पहिरो गएको छ । सडक खण्डमा गाडीको लामो लाइन लागेको छ । लामो दूरीमा चल्ने गाडी तथा मालवाहक ट्रकसहित साना गाडीहरुसमेत रोकिएका छन् । यो सडक खण्डसँग जोडिएका जिल्लाका नाकानाकामै गाडी रोक्न थालिएको छ । काठमाण्डौदेखि छुट्ने गाडीलाई पनि नागढुङ्गा, थानकोट, कलङ्की लगायत ठाउँमा रोकेर राखिएको छ ।