पहिरो र डुबानका कारण २४ घण्टामा १३ को मृत्यु

कैलाली । पश्चिम नेपालमा अविरल वर्षातका कारण प्राकृतिक विपत्तिका घटना बढेका छन् । पछिल्लो २४ घण्टामा बाढी, पहिरो र डुबानका कारण विभिन्न स्थानमा १३ जनाको ज्यान गएको छ । केही मानिस घाइते छन् । गृह मन्त्रालयका अनुसार एक जना भने बेपत्ता छन् । विभिन्न स्थानमा १२ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।

कालिकोटमा पहिरोमा परी १० जनाको ज्यान गएको छ । यहाँ एक जना वेपत्ता भएका छन् भने ७ जना घाइते छन्। कैलालीको कैलाली गाउँपालिका ७ वसन्ता भन्‍ने स्थान आज डुबानमा परेको छ । यस स्थानमा ३ जना र बाजुरा बुढीगंगा गाउँपालिका १ मा पहिरोमा परी २ जना घाइते भएको तथ्यांक छ ।

कालिकोट बाहेक दाङमा २ जना र दोलखामा एक जनाको ज्यान गएको हो । आज सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा गत असार ३१ गतेको पहिरोमा परि हराइरहेका मध्ये २ जनाको शब फेला परेको छ । बाढी र पहिरोका कारण देशभर अझै एक दर्जन राजमार्गमा यातायात सूचारु हुन सकेको छैन । सोमबारबाट जारी मनसुनका कारण पश्चिम नेपालमा बढी प्रभाव परेको हो ।