काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमास (साउन–असोज) मा ३.४ प्रतिशतले आर्थिक वृद्धिदर हुने अनुमान सार्वजनिक भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार चालु आव पहिलो त्रैमासको कुल गार्हस्थ उत्पादन (जीडीपी) को प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ । जस अनुसार २०८०–८१ को पहिलो त्रैमासको तुलनामा चालु आव पहिलो त्रैमासमा अर्थतन्त्र ३.४ प्रतिशतले विस्तार भएको अनुमान छ
। उता, गत आव अन्तिम चौमासको तुलनामा भने अर्थतन्त्र ०.२ प्रतिशतमात्र विस्तार हुने अनुमान कार्यालयले गरेको छ । गत आव अन्तिम चौमासमा आर्थिक वृद्धिदर ३.२ प्रतिशत थियो । यस आव पहिलो त्रैमासमा ३.४ प्रतिशतले वृद्धि हुने अनुमान कार्यालयको छ । चालु आव सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिदर भेट्ने लक्ष्य लिएको छ ।
पहिलो त्रैमासमा सबैभन्दा उच्च दरले वृद्धि भएको क्षेत्र विद्युत् र ग्यास रहेको देखिएको छ । कार्यालयका अनुसार यो क्षेत्रको वृद्धिदर २१.४ प्रतिशत छ । दोस्रो स्थानमा यातायात र गोदाम रहेको छ । कार्यालयले अर्थतन्त्रका विभिन्न १८ क्षेत्र गणना गरी जीडीपीको अनुमान गर्ने गर्छ । आवास तथा भोजन क्षेत्रको वृद्धिदर ६.३ प्रतिशत रहने अनुमान यस त्रैमासमा गरिएको छ । निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बीमा क्षेत्रको मूल्य अभिवृद्धि दर ५.७ प्रतिशत रहने अनुमान कार्यालयको छ ।
त्यस्तै प्रशासनिक सहयोगी सेवा क्षेत्र वृद्धिदर ५.४, वैज्ञानिक तथा प्राविधिक सेवा वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान छ । प्रथम त्रैमासमा निर्माणजन्य वस्तु आयातमा आएको गिरावट र निर्माणले गति लिन नसक्दा यो क्षेत्र संकुचनमा छ । निर्माण क्षेत्र ०.३ प्रतिशतले ऋणात्मक छ । निर्माण क्षेत्र कोरोना महामारीयता नै निरन्तर संकुचनमा छ । अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा कृषि क्षेत्रले ओगटेको छ । कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर ३ प्रतिशतमात्र रहने अनुमान छ ।
धान लगायत वर्षेबाली वृद्धि, तरकारी र नगदेबाली वृद्धि तथा पशुपन्छी उत्पादनमा भएको वृद्धिले यो क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको कार्यालयले उल्लेख गरेको छ । समयमा मल उपलब्धता, उन्नत बीउ प्रयोग, पर्याप्त मनसुनी वर्षाले समेत कृषि उत्पादनमा सहयोग गरेको सरकारको भनाइ छ । वर्षायामको बाढी र पहिरोले क्षति गर्दा कृषिमा उल्लेख्य वृद्धि भने हुन नसकेको कार्यालयको विश्लेषण छ ।
कार्यालयका अनुसार अर्थतन्त्रको दोस्रो ठूलो क्षेत्र थोक तथा खुद्रा व्यापारमा समेत उल्लेख्य वृद्धिदर छैन । यो क्षेत्र पहिलो त्रैमासमा ०.५ प्रतिशतले मात्र विस्तार भएको देखिन्छ । कृषि तथा व्यापारजन्य वस्तुको स्वदेशी उत्पादनमा भएको सामान्य वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तु आयातमा भएको सामान्य वृद्धिका कारण व्यापार क्षेत्रमा केही सुधार देखिएको कार्यालयले जनाएको छ । यस त्रैमासमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको वृद्धिदर २.३ प्रतिशत रहने अनुमान छ ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष यो क्षेत्रको उत्पादन बढेको कार्यालयले उल्लेख गरेको छ । यस वर्ष शिक्षा ०.४, स्वास्थ्य ४.१ र घरजग्गा कारोबारमा ३.१ प्रतिशतको वृद्धि भएको देखिन्छ । यसरी समग्र अर्थतन्त्रबारे कार्यालयले भनेको छ, ‘नेपालको आर्थिक वृद्धिदर कहिले घट्ने, कहिले बढ्ने गरेको भए पनि आव २०७९्–८० देखि सुधारात्मक रूपमा निश्चित दिशा तय गर्न खोजेको देखिन्छ ।’ गत आव अन्तिम त्रैमास (वैशाख–असार) को तुलनामा चालु आव पहिलो त्रैमास ९साउन–असोज० मा १८ औद्योगिक क्षेत्रमध्ये १२ क्षेत्रको उत्पादन बढेको देखिएको छ । ६ क्षेत्र संकुचनमा आएका छन् ।
यी दुई त्रैमास तुलना गर्दा विद्युत् तथा ग्यासमा सबैभन्दा धेरै ८.५ प्रतिशत वृद्धिदर छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा ७.७ प्रतिशत वृद्धि भएको अनुमान छ । कृषि, वन तथा मत्स्य भने ऋणात्मक हुँदै ०.८ प्रतिशतमा खुम्चिएको छ । ऋणात्मक रहेका ६ क्षेत्रमध्ये सबैभन्दा धेरै खानी तथा उत्खनन १३.९ प्रतिशत र व्यापार ३.७ प्रतिशतले खुम्चिएको छ । निर्माण क्षेत्र ०.६ प्रतिशतले खुम्चिएको छ ।