न्युयोर्क
कोरोना भाइरसले विश्वका १ सय ८८ देशका ४ लाख २० हजार ५ सय मानिसको ज्यान लिइ सकेको छ । अमेरिकामा मात्र १ लाख १४ मानिसको ज्यान कोरोनाका कारण गई सक्यो । मृतकको संख्याको यस्तो बिकराल चित्र बीच अमेरिकाकै क्यालिफोर्निया राज्यको लसएन्जलसमा भएको एक दम्पतीको मृत्युले पाँच जना बच्चा टुहुरा हुन पुगेको समाचार अझै हृदय बिदारक छ । एक दिनको फरकमा ती दम्पतीको मृत्यु भएपछि पाँच बच्चाहरु टुहुरा भएका हुन् । ६० वर्षीय पति हम्बर्टो रुलियाज रुभाजको मृत्यु आईतबारका दिन भयो भने उनकी ३८ वर्षीया पत्नी करिना बोनिलाको मृत्यु भोलिपल्ट सोमबारका दिन भएको के टि एल एले जनाएको छ । उनीहरुको दुई बर्षदेखि १७ बर्ष उमेरसम्मका गरी ५ सन्तान छन् ।
सडकमा फलफुल बेच्ने काम गर्दै आएकी ३८ वर्षीया करिनालाई कोरोनाको लक्षण पहिला देखिएको छोरी मरिया रुलासले बताएकी छिन् । आमालाई लक्षण देखिएको केही दिन भित्र उनको पितालाई पनि लक्षण देखिएको थियो । दम्पतीको मृत्यु पछि गो फण्डमीबाट सहयोग संकलन सुरु गरिएको छ ।
एजेन्सी