कराँची । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा शनिबार भएको एक विष्फोटमा कम्तिमा १० जना मारिएका छन् । त्यहाँ एउटा दुई तले भवनको भुइँ तल्लामा भएको विष्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको र १२ जना घाइते भएको प्रहरी र अस्पताल स्रोतलाई उदृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् । अस्पतालको अभिलेखमा १० शव र १२ घाइतेको नाम दर्ता भएको खबर छ ।
घटनामा गम्भीर घाइते भएका अधिकांश घाइतेको अवस्था गम्भीर रहेको शहीद मोहम्मद बेनजिर भुट्टो इन्स्टिच्युट अफ ट्रमाका प्रमुख सञ्चालक मुहम्मद साबिर मेमनले बताएका छन् । एक निजी बैंक र अन्य थुप्रै कार्यालयहरू भएको भवनमा ग्यास चुहावटका कारण विष्फोट भएको बताइएको छ। विष्फोटमा भवन आंशिक रूपमा ध्वस्त भएको थियो र थुप्रै व्यक्तिहरू भग्नावशेषमा फसेको आशंका गरिएको छ।
उद्दारटोली फसेका मानिसहरुको खोजीका लागि भग्नावशेष हटाउन प्रयासरत छ । कराँची सिन्धको प्रान्तीय राजधानी हो। सिन्धका मुख्यमन्त्री सैयद मुराद अली शाहले घटनाप्रति दुःख व्यक्त गर्दै आतङ्कवादको सम्भावनालाई ध्यानमा राखेर घटनाको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन्। थप अनुसन्धानका लागि बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।