काठमाडौं । पाकिस्तानको प्रधानमन्त्रीमा पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता शहबाज शरिफ निर्वाचित भएका छन्।
सोमबार पाकिस्तानी संसद्ले नयाँ प्रधानमन्त्रीमा शरिफलाई निर्वाचित गरेको हो। उनी पाकिस्तान पिपल्स पार्टी (पीपीपी) को लगायत साना दलको समर्थनमा पाकिस्तानका २३औं प्रधानमन्त्री बनेका हुन्।
संसद्मा भएको मतदानमा उनको पक्षमा १७४ सांसदले मत दिएका थिए। ३४२ सदस्यीय पाकिस्तानी संसद्मा बहुमतका लागि १७२ सांसद आवश्यक पर्छ।
नयाँ प्रधानमन्त्री निर्वाचित हुँदा पूर्व प्रधानमन्त्री इमरान खानको पाकिस्तान तेहरीक-ए-इन्साफ (पीटीआई)ले संसद् बहिष्कार गरेको छ। प्रधानमन्त्रीको मनोनयन दर्ता गरेका पीटीआईका नेता महमूद कुरैसीले सांसदबाट राजीनामा दिएको घोषणा गरेका थिए।
पूर्व प्रधानमन्त्री खानले शनिबार संसद्मा विश्वासको मत गुमाएका थिए। उनी विरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव बहुमतले पारित भएको थियो।
चार वर्षअघि भएको निर्वाचनमा खानको पार्टी १३३ सिट जितेको थियो। खानले अन्य साना दलसँग मिलेर सरकार गठन गरेका थिए। तर, अहिले साना दल समर्थन फिर्ता लिएपछि उनी सत्ताबाट बाहिरिएका थिए।