पाकिस्तानविरुद्ध नेपालको सान्त्वना जित

काठमाडौं । आशिष चौधरीको डेब्यू गोलको मद्दतमा नेपालले साफ च्याम्पियनसिप २०२३ मा पाकिस्तानलाई मंगलबार १–० ले हराएको छ । सुरुवाती दुई खेल हार्दै समूह चरणबाट बाहिरिसकेको नेपालले पाकिस्तान विरुद्ध जितसहित प्रतियोगिता सिध्याएको छ । बैंगलुरुस्थित श्री कान्तिराव स्टेडियममा भएको खेलमा नेपाललाई सान्त्वना जित दिलाउन आशिषले ८०औं मिनेटमा गोल गरे ।

४६औं मिनेटमा आभास लामिछानेको स्थानमा मैदान प्रवेश गरेका आशिषले लकेन लिम्बुको पासमा नेपालका लागि आफ्नो पहिलो गोल गरेका हुन् । नेपाल पहिलो खेलमा कुवेतसँग ३–१ र दोस्रो खेलमा घरेलु टोली भारतसँग २–० ले पराजित भएको थियो । पाकिस्तान भने समूह चरणका तीनवटै खेल हार्दै घर फर्किएको छ ।

नेपालले साफ च्याम्पियनसिपमा १५ वर्षपछि पहिलो पटक पाकिस्तानलाई पराजित गरेको हो । पछिल्लो पटक नेपालले सन् २००८ मा माल्दिभ्समा पाकिस्तानलाई साफमा हराएको थियो । त्यसयता भने नपालले साफमा पाकिस्तानलाई हराउन सकेको थिएन । सन् २०१८ मा बंगलादेशको ढाकामा भएको पछिल्लो साफमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएको थियो ।